www.tandavnews.com
Fact ~ In search of truth

जिन्दगीलाई टिकटको ‘टेको’

जीवन सुवेदी
पाेखरा, ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीको गेटमा पुगेपछि बायाँ साईडमा निगालोको डोको, केहि थान हुलाक टिकट, मिठाई अनि नागरिकता राख्ने प्लाष्टिकका कभर सहित बसेकी छिन् भीमकुमारी थापा ।

विहानको दश नबज्दै सुरु हुन्छ भीमकुमारीको दिनचर्या । हुलाकले प्रकाशन गरेका टिकट खरिद गरेर सेवाग्राहीलाई बेच्नु उनको दैनिकी हो । हुलाक टिकटसँगै चुईङ्गम, नागरिकता राख्ने प्लाष्टिकका कभर, मिठाईलगायतका सामग्री बिक्री गरेर नै उनको जीवन चलिरहेको छ ।

Batas

यस्ता सामग्रीबाट सरदर उनले ५ देखि ७ सय रुपैयाँसम्मको ब्यापार गर्छिन् । दैनिक यति नै कमाई हुन्छ भन्ने छैन । ‘प्रशाशनमा मान्छे भीड भएको दिन दुईचार पैसा भइपनि हाल्छ, कहिलेकाहीँ हुँदैन त्यस्तै हो’ उनले सुनाइन् । कोरोना संक्रमणपछि भएको देशव्यापी बन्दाबन्दीका कारण आफुपनि निकै मारमा परेको उनले दुखेसो पोखिन् ।

उमेरले ७६ मा टेकिसकेकी भीमकुमारीलाई यसरी व्यापार गर्नु रहर चाहिँ होईन । यो उनको कहर हो । श्रीमानको निधन भइसक्यो । अन्त गएर कुनै काम गर्ने उपाय नभएपछि भोको पेटका निमित्त टिकट बेच्ने काम सुरु गरेको उनी बताउँछिन् ।

बुढेसकालको साहारा बन्लान् भनी जन्म दिएर हुर्काएका सन्तानहरुले नै बेवास्ता गरेपछि सुरु भएका आर्थिक कष्टकर दिनहरुले उनलाई दिनचर्याको मेलो खोज्न बाध्य पा¥यो । ‘परिवारको कुरै नगर्नुस मसित, मेरो परिवारै छैन, म त छोरीको छोरासँग बसेकी छु’ उनले भनिन्, छोरी मरेर गई, छोरीको छोरालाई लिएर बसेकी छु ।’ आफुलाई बुढेसकालमा साहारा दिन नसक्नेहरुलाई उनले परिवार हुनु र नहुनु एकै भएको बताईन् । भनिन् ‘परिवार छैनन् भनम् भने छन्, मसँग बसेको छोरा पनि बितेर गयो, बुहारी भिन्दै बसेकी छ, सबै आफ्नो सुरमा छन्, म बुढीलाई हेर्ने कोही नभएपछि के परिवार छ भन्नु ।’ ४ भाई छोरा १ छोरीसहित ५ जना सन्तानकी आमा भएर पनि आज एक्लै हुनुपरेकोमा उनी आफैसित गुनासो गर्छिन् ।

जीवनका ७६औँ बसन्त पार गरिसकेकी थापा त्यस ठाउँमा बस्न थालेको पनि १९ वर्ष पुगिसक्यो । दिनहुँ सडकमा उड्ने धुलो र धुवाँका कारण आँखामा समस्या आएको बताउँछिन् भीमकुमारी । ‘हुनत अब बुढेसकाल लागेर पनि होला धुलोले आँखा राम्रोसंग देख्न सक्दिन, डाक्टरले दिएको झोल दबाई हाल्ने, काम चलाउने गरेकी छु ।’

उनी त्यस गेटमा बसेदेखि सैयौँ प्रमुख जिल्ला अधिकारी फेरिईसके । तर आफ्नो अवस्था बुझ्ने कोशिस भने कुनै प्रशासकले नगरेको उनले बताईन् । ‘उहाँहरुले यहाँबाट जा पनि भन्नुभएको छैन, बस पनि भन्नुभएको छैन । म अब बाँचिन्जेल यहिँ बस्ने हो । मेरो अन्त जाने ठाउँ पनि छैन यहिँ टिकट बिक्री नै मेरो बाँच्ने अधार बनेको छ’ उनले भनिन् ।

भीमकुमारीकाबारेमा विभिन्न आमसञ्चारले आवाज नउठाएका पनि होइनन् । तर उनको जीवनमा त्यसले कुनै प्रभाव नपारेको उनले बताईन् । ‘पत्रिकामा फोटो आएर पनि हुने केही रहेनछ ।’ केहि थान पत्रिकामा छापिएका आप्mना तस्बिरहरु देखाउँदै उनले भनिन् ।

समाजमा रहेका ज्येष्ठ नागरिकहरुमध्ये भीमकुमारी एक प्रतिनिधि पात्र हुन् । उनीजस्ता कैयौं बृद्ध–बृद्धाहरु अहिलेपनि बृद्धाश्रमको साहारा लिन बाध्य छन् । जेष्ठ नागरिकका लागि परिवार, समुदाय र राज्यले विशेष ध्यान दिन सक्नुपर्छ । घर परिवारका सदस्यले बेवास्ता गर्दा धेरै बृद्धबृद्धाहरु अहिलेपनि पीडित हुनुपर्ने अवस्था छ ।

राज्यले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था त गरेको छ तर पारिवारिकरुपमा खुसी हुन नसक्दासम्म त्यस्ता सुविधा गौण भएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.