www.tandavnews.com
Fact ~ In search of truth

माओवादी केन्द्रको विधान पारित, केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

काठमाडौँ

नेकपा ‘माओवादी केन्द्र’ को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गरेका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिएपछि विधान सर्वसम्मतिले पारित भएको हो ।

विधानलाई आगामी केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेको थियो । विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

Batas

महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला तथा २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दाबी गरेको छैन, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिनुहुने पक्कापक्की छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दाबी गरेको छ । यस्तै दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

विधान पारित भएसँगै निर्वाचनको काम अगाडि बढाउने निर्वाचन आयोगको तयारी छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुने जानकारी दिए । विधान पारित भएसँगै केही समयका लागि बन्दसत्र स्थगित भएको छ । अहिले पार्टीको स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको छ ।

माओवादीको महाधिवशेन यही पुस ११ गतेदेखि राजधानीमा सुरु भएको हो । शुक्रबारको बन्दसत्रले पार्टी अध्यक्ष प्रचण्डले पेश गरेको ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक वैचारिक दस्तावेज सर्वसम्मतिले पारित गरेको थियो । दस्तावेजमाथि छलफल गर्न विभिन्न २५ समूह बनाइएको थियो । राजनीतिक प्रतिवेदनमाथि मंगलबार र बुधबार समूहगत छलफल भएको थियो ।

शुक्रबारको बन्दसत्रमा निर्वाचन आयोगका प्रमुख श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेता राम कार्की र लेखनाथ न्यौपानेले फरक मत राखेको थियो । दस्तावेजमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले फरक मतमा उठेका विषयलाई उचित ढंगबाट सम्बोधन गरिने बताएका थिए ।

दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव गरेको थियो । महाधिवशेनमा एक हजार सात सय बढी प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनले आजै केन्द्रीय समितिको टुङ्गो लगाउनेछ ।

यसअघि माओवादीको सातौँ महाधिवशेन २०६९ फागुनमा हेटौँडामा भएको थियो । सो महाधिवशेनले जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षसहित बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने निर्णय गरेको थियो ।

 

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.