www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका पदाधिकारीका सवारीलाई नयाँ मापदण्ड

सञ्जय रेग्मी
पोखरा, ताण्डव न्यूज ।
गण्डकी प्रदेश सरकारले प्रदेशका पदाधिकारीहरूले खरिद तथा प्रयोग गर्ने सवारीहरूलाई वैज्ञानिक ढङ्गबाट सञ्चालन गर्नका लागि नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको छ ।

अहिलेसम्मको अवस्थामा गाडीको खरिद तथा उपयोग वैज्ञानिक नरहेकोले यसलाई वैज्ञानिक र मितव्ययी समेत हुने गरी नयाँ मापदण्ड लागू गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । गत फागुन ३० गते बसेको प्रदेश मन्त्री परिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै उनले सवारी साधनको मापदण्डका सम्बन्धमा अध्ययन प्रतिवेदनलाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी गराए । नयाँ मापदण्ड लागू हुने भए पछि अब गण्डकी प्रदेशका मुख्यमन्त्री लागि तीन हजार सीसीको, सभामुख र मन्त्रीका लागि २५ सय सीसीको सवारी खरिद तथा प्रयोग गर्ने भनिएको छ ।

यस्तै उपसभामुख, विपक्षी दलको नेता, राज्यमन्त्री, दलका सचेतक, दलका नेताहरू, संसदीय दलका सभापतिहरू, सहायक मन्त्री, प्रमुख सचिवका लागि २३ सय सीसी तथा मुख्य न्यायाधिवक्ता, संबैधानिक निकायका प्रमुख र सदस्य एवं प्रदेश सदस्यका लागि २२ सय सीसीका सवारी खरिद र प्रयोग गर्ने भनिएको छ । ‘सवारीको खरिद र प्रयोगलाई वैज्ञानिक बनाउने बारेमा अध्ययन प्रतिवेदन तयार पारिएको थियो । जसले पदाधिकारीहरूले प्रयोग गर्ने सवारी खरिद, प्रयोग र मितव्ययिताको लागि केही नयाँ र सवारीको क्षमतामा आधारित प्रभावकारी व्यवस्था गरेको छ,’ मन्त्री खड्काले भने, ‘यो सँगै अब पदाधिकारीले प्रयोग गर्ने सवारीमा पनि मितव्ययिता आउँछ । सवारीको अवैज्ञानिक प्रयोग अब बैज्ञानिक बन्छ ।

Batas

यो निर्णय प्रदेश सरकारको महत्त्वपूर्ण काम हो ।’ मन्त्री खड्काका अनुसार मन्त्रीहरूले सवारीको इन्धन सुविधा लिनको लागि यस अगाडिको प्रक्रिया झन्झटिलो भएकाले त्यसलाई पनि केही सजिलो बनाइएको छ । अहिलेसम्म मन्त्रीहरूले नियमानुसार कानुन बमोजिम पाउनुपर्ने इन्धन सुविधा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पाउने गरेकोमा अब सम्बन्धित मन्त्रालयबाट नै पाउने व्यवस्था गरिएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.