www.tandavnews.com
Fact ~ In search of truth

३२ वडाअध्यक्षको वाचा : ‘विकास र पूर्वाधारलाई महत्व दिनेछु’

दिपक अधिकारी
पोखरा/ताण्डव न्यूज ।

वडा नम्बर ३२ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षका उम्मेदवार खमबहादुर पुनले बेगनास सिंचाई परियोजना कार्यलाई अघि सार्ने बताएका छन् । उनले घरदैलो कार्यक्रममा मतदातामाझ वडाअध्यक्ष पदमा जितेको खण्डमा पहिलो प्रथामिकता सिंचाईलाई दिने बताएका हुन् ।

उनले ३२ वडामा रहेका सुकुम्बासी जनताको समस्या हल गर्ने बताए । ‘नेपाल सरकारले सुकुम्बासीलाई हेर्नुपर्छ ,’ उनले भने, ‘यहाँका जनताले मलाई विश्वास गरेर जिताउनुभयो भने सुकुम्बासीको समस्या समाधान गर्नेछु । उहाँहरुलाई लालपूर्जा दिलाउनेछु ।’ जनताले आफूप्रति निकै आस गरेको उनले बताए । जनताको प्रत्येक घरदैलोको बाटोमा ढलान गरिदिने उनले आश्वासन दिएका छन् ।
‘तल्लो गगनगौडादेखि राजाको चौतारा जाने बाटो बनाउनेछु । यो बाटो बैकल्पिक बाटो पनि हो । त्यसको स्तरउन्नतीमा लाग्नेछु,’ उनले भने, ‘माथिल्लो गगनगौडादेखि सातमुहाने जाने बाटो मरेको लास लान पनि नसक्ने अवस्था छ । त्यसको मुहार फेर्नेछु ।’ उनले विकास र पूर्वाधारलाई महत्व दिएर नमुना वडा बनाउने प्रतिबद्धता जनाएका छन् ।

Batas

उनले लामेआहाल, तल्लो गगनगौडामा हुने बाढी पहिरोबाट बर्षेनी हुने डुवान क्षेत्रलाई सुधार्ने बताए । लामेआहालमा बन्न लागेको क्षेत्रीय पोखरा बसपार्क निर्माण गर्नको लागि सहयोग गर्ने उनले बताए । उनले युवाका लागि खेलकुद मैदान बनाएर खेलाडी उत्पादन समेत गर्ने बताए । ‘एक गाउँ एक खेलकुद मैदान बनाउनेछौं,’ उनले भने, ‘प्रत्येक वर्ष वडाको आयोजनामा खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।’ जेष्ट नागरिकहरुले पाउने बृद्धा भत्ता घरघरमा पु¥याउने उनले जनतामाझ घोषणा गरेका छन् ।

उनले कुनै पनि ठाउँ, नहेरी वडाको समान विकास गर्नको लागि पाँचवर्षसम्म लागि पर्ने उनले बताए । ‘मैले जिते भने एमालेले मात्र जित्ने होइन सम्पूर्ण राजनीतिक पार्टीले जित्ने हो,’ उनले भने, ‘अन्य पार्टीका साथीहरुसँग सहकार्य गरेर वडा विकासमा लागि पर्नेछु ।’ ढोडबेंशी र मालेपाटनमा उखु खेती गर्ने किसानलाई व्यवसायिक बनाउनेमा पहल गर्ने बताए । ‘फेदी, ढोडवेंशी, मालेपाटन हुँदै राजाचौतारा जाने भत्केको बाटोलाई चुनाव जितेलगत्तै मर्मतको काम गर्नेछु,’ उनले भने ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.