www.tandavnews.com
Fact ~ In search of truth

गोकर्णेश्वर नगर कार्यपालिकामा एमालेको समूह निर्वाचित

काठमाडौँ।

गोकर्णेश्वर नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले)को समूह निर्वाचित भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि नेपाली कांग्रेस र एमाले गरी दुई दलले उम्मेदवारी दर्ता गराएकोमा एमालेको समूह निर्वाचित भएको निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिए।

निर्वाचित हुने महिला सदस्यमा लक्ष्मी भण्डारी, सरिता मिजार, गौरीमाया श्रेष्ठ, माया तामाङ र सीता दर्जी हुन् । यसैगरी दलित तथा अल्पसङ्ख्यक सदस्यमा पासाङ्वाङ्चु शेर्पा, देवीमाया लिम्बु राई कुलुङ् र हरिबहादुर विक निर्वाचित भएका छन् । निर्वाचित पाँचै जना उम्मेदवारले २४ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेसका उम्मेद्वारले भने २३ मत पाएका थिए । कार्यपालिका निर्वाचनका लागि ४७ मतदाता थिए । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेबाट २४, कांग्रेसबाट २२ र स्वतन्त्र एक सदस्य नगरसभामा निर्वाचित भएका थिए ।

स्वतन्त्रको मत पनि कांग्रेसलाई गएको छ । नगरपालिकाको–४ मा अध्यक्ष निर्वाचित जयराम महत कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेर विजयी भएका थिए। विसं २०७४ मा महत वडा नं ४ को वडा सदस्यमा कांग्रेसका तर्फबाट विजयी भए। कार्यपालिकामा पाँच महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवार हुने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट परेको जनाइएको छ ।

नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौ वटै वडाका अध्यक्ष रहने व्यवस्था छ । गोकर्णेश्वर नगर प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडा अध्यक्ष एमाले, तीन वडा अध्यक्ष कांग्रेस र एक वडा अध्यक्ष स्वतन्त्रका उम्मेद्वार निर्वाचित भएका छन् । गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले सपथ लिएर कार्यभार सम्हालिसकेका छन् । कार्यपालिकाको निर्वाचन भएसँगै नगरपालिकाको कार्य सञ्चालनमा सहजता आएको जनाइएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.