www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका १५ ठाउँमा सौर्य ऊर्जा जडान, शैक्षिक संस्थादेखि कृषि सिँचाईमा सुविधा

म्याग्दी।

गिभ पावर संस्थाले म्याग्दीका १५ भन्दा बढी बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिँचाइ आयोजनामा सौर्य ऊर्जा जडान गरेको छ । अमेरिकाबाट आएका संस्थाका प्रतिनिधिले आफैँ श्रमदान गरेर सौर्य ऊर्जा जडान गरेका हुन् ।

केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा नपुगेको र लघुजलविद्युत् परियोजना निर्माण गर्न सम्भव नभएका दुर्गम बस्तीका साथै विद्यालय र शैक्षिक संस्थामा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि सोलार जडान गरेका हुन् । मङ्गला गाउँपालिका–३ बान्द्रेमा म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न पाँच किलोवाट क्षमताको सोलार जडान गरेका छन् ।

यसअघि मालिका गाउँपालिका–५ देवीस्थान र रघुगङ्गा गाउँपालिका–६ को पाखापानी स्वास्थ्यचौकीमा ७.३७ किलोवाट क्षमताको सोलार जडान गरेका थिए । बान्द्रेका सन्तोष गिरीले सौर्य ऊर्जा जडान गरेर म्याग्दी नदीको पानी ११५ मिटरमाथि रहेको नहरबाट १३ घरधुरीको २५० रोपनी जमिनमा बाहै्र महिना सिँचाइ गर्ने सुविधा भएको बताए।

“बस्तीमुनिीको म्याग्दी नदीको पानी खेर गए पनि सुक्खा याममा सिँचाइ अभावमा खेतीबाली लगाउन, सिँचाइ गर्न र ब्याड राख्न समस्या हुने गरेको थियो”, उनले भने “सोलारबाट लिफ्ट सिँचाइ भएपछि बाह्रै महिना खेती गर्न सकिने भएको छ ।” संस्थाका प्रतिनिधि र प्राविधिकसहित २६ जनाको टोलीले सोलार जडान र नदी किनारमा इनार बनाउन १२ दिन श्रमदान गरेका थिए । उनीहरुले मङ्गला माविमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई हस्तकलासम्बन्धी तालिम दिएका थिए ।

सन् २०२१ को डिसेम्बर महिनायता बागलुङको ताराखोला स्वास्थ्यचौकी, धादिङको चौकी भञ्ज्याङमा सोलार मिल, पर्वतको चित्रेको स्वास्थ्य चौकीमा सौर्य ऊर्जा र सोलार मिल, मोदी गाउँपालिकाको लेरपार स्वास्थ्यचौकीमा सौर्य ऊर्जा गरेका संस्थामा आबद्ध सामाजिक कार्यकर्ता चित्र तिलिजा पुनले बताए।

स्वास्थ्यचौकीमा वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था भएपछि फ्रिज, डिपफ्रिज, एक्सरे, कम्प्युटर, प्रिन्टर, रकसन मेसिन, बेवी वार्मरलगायतका उपकरण आवश्यक परेको जुनसुकै समयमा प्रयोग गर्न सकिने भएको छ । बिरामीको उपचार, औषधि भण्डारण र सेवा विस्तारमा सहज भएको देवीस्थान स्वास्थ्यचौकीका प्रमुख तेजिन्द्र रानाले बताए।

म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगर र चेचुङमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाको देउराली आधारभूत, काफलडाँडा आधारभूत, आदर्श मावि, टिकोट मावि, सर्वोदय मावि, मुक्तिमार्ग मावि, खिवाङ आधारभूत, नांगीको सामुदायिक अस्पताल, राम्चे स्वास्थ्यचौकी र टिकोट सामुदायिक स्वास्थ्य एकाइमा पनि सौर्य ऊर्जा जडान गरिएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.