www.tandavnews.com
Fact ~ In search of truth

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनमा पनि छ : अध्यक्ष दाहाल

काठमाडौँ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन्।

जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको केन्द्रीय समिति बैठकलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिलाई निरत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताए।

परिवर्तन संस्थागत गर्ने सङ्घर्षमा हामी सबैको साझा प्रयास र सङ्कल्प आवश्यक रहेको उहाँको भनाइ छ । विगतमा विभिन्न कारणले फरकफरक कित्तामा रहेका पूर्वमाओवादी क्रमशः एक ठाँउमा उभिने वातावरण बन्दै गएकामा अध्यक्ष दाहालले प्रसन्नता व्यक्त गरे । त्यस अभियानलाई क्रमशः सफलतामा पुग्ने वातावरण सिर्जना भएको तथा त्यसले विस्तारै सफलता हासिल गर्ने उहाँले विश्वास व्यक्त गरे ।

पार्टी टुटफुट हुँदा विभिन्न समूहमा विभक्त भएका पूर्वमाओवादी क्रमशः एकीकृतरुपमा अगाडि बढ्ने वातावरण कर्मचारी सङ्गठनमा पनि बनेकामा अध्यक्ष दाहालले खुसी व्यक्त गरे। सङ्घीय निजामति विधेयकलाई कर्मचारीकै माथिल्लो तहबाट अवरोध भएको भन्ने सूचना आफूले प्राप्त गरेको भन्दै उनले त्यस प्रवृत्तिका विरुद्ध दबाव दिन कर्मचारीलाई अनुरोध गरे।

अध्यक्ष दाहालले सङ्गठन निर्माण गर्दै त्यसलाई गतिशील बनाउन आग्रह गर्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारी प्रशासनभित्र देखिएको समस्या समाधान गर्न पार्टी लागिपरेको बताए। भुसाल कर्मचारी महासङ्घको ‘फ्याक्सन इञ्चार्ज’ समेत हुन।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.