www.tandavnews.com
Fact ~ In search of truth

गडहरे गुफाको ‘भूभौतिकी सर्भे’ गरियो

वालिङ।

स्याङ्जाको भिरकोट नगरपालिका–८ र ९ को सीमामा अवस्थित गडहरे गुफाको दोस्रो चरणको ‘भूभौतिकी सर्भे’ गरी प्रतिवेदन सार्वजनिक गरिएको छ ।

पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा रहेको गडहरे गुफाको विकासका लागि दोस्रो चरणको ‘भूभौतिकी सर्भे’ गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । भिरकोट नगरपालिकाको पहल र त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. कविराज पौडेल नेतृत्वको भूगर्भविद् तथा सहायक भूगर्भविदहरुको एघार जनाको समूहले सर्भे गरी प्रतिवेदन नगरपालिकालाई बुझाएको हो ।

पहिलो चरणमा गुफाको ‘भौगर्भिक सर्भे’ गरेपश्चात् गुफाभित्र ६७८ मिटरभन्दा भित्र छिर्न नसिएकाले त्यहाँभन्दा अझै भित्रको अवस्थाबारे अध्ययन गर्नका लागि छुट्टै विधि ‘भूभौतिकी सर्भे’ गरिएको डा. कविराज पौडेलले बताए । “जमिनबाट करेन्ट पठाएर गरिने सर्भे ‘भूभौतिकी सर्भे’ बाट गुफाभित्रको तीनवटा विषयको अध्ययन गरेका छौँ,” उनले भने, “यो सर्भेले ६७८ मिटरभन्दा भित्र गुफा भएको, गुफा र जमिनको बीचमा अर्को ठूला वा सहायक गुफा नभएको र भुइँभन्दा तल अर्को सहायक गुफा नभएको पत्ता लागेको छ ।”

गत भदौमा पहिलो चरणको ‘भौगर्भिक सर्भे’ पश्चात् गुफाको बाहिरी तथा भित्री भूबनोट, गुफाभित्रका विभिन्न आकृति, ढुङ्गा खस्न सक्ने जोखिम भए÷नभएको, गुफाको बाहिरी भित्री संरचनाका बारेमा प्रतिवेदन तयार पारेर सार्वजनिक गरिएको थियो । दुवै चरणको अध्ययनपश्चात् गुफाभित्रको प्रत्येक १०/१० मिटरको दूरीमा रहेका संरचनाहरु, चट्टानको प्रकारहरु, चट्टान खस्ने, जमिन भासिने जोखिम भए/नभएको सम्पूर्ण अवस्थाबारे प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ ।

गुफाभित्र जमिन भासिने, चट्टान खस्नेजस्ता समस्याहरु नरहेको जनाइएको छ । गुफाभित्र विभिन्न किसिमका आकृति मनमोहक र कलात्मक देखिएको अध्ययन टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा गुफा ओझेलमा परेको भिरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।

गुफाको प्रचारप्रसारसँगसँगै पूर्वाधारको विकास गरेर यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा पहिचान दिने गरी योजनाहरु अगाडि बढाउने प्रमुख कर्माचार्यले जानकारी दिए । “भिरकोट नगरपालिकाको पहिचानका रुपमा रहेको गडहरे गुफाको विकास र प्रचारप्रसारमा ध्यान दिन्छौँ,” प्रमुख कर्माचार्यले भने, “यसका लागि नगरपालिका र यसका क्षेत्रमा काम गर्ने सम्बन्धित निकायहरुसँगको पहलमा बाँकी रहेका कार्यहरुलाई पूर्णता दिँदै जानेछौँ ।” गुफाभित्र र बाहिरको दुवै चरणको अध्ययनको प्रतिवेदनबाट प्राप्त सुझावलाई नगरपालिकाका तर्फबाट कार्यान्वयनमा लगिने प्रमुख कर्माचार्यले बताए ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.