www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला

पाेखरा।

देशका छवटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ ।

भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध महानगरपालिका प्रमुखहरूबीच अनुभव आदान–प्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, “हामीले साउनको पहिलो हप्ता पोखरामा भेला आयोजना गरेका छौँ । सबै आउने निश्चित भइसकेको छ ।”

भेलाले महानगरबीच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने र विकास निर्माणलगायत सङ्घ र प्रदेश सरकारसँगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिए । यसैबीच पोखरा महानगरका प्रमुख आचार्य र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

काठमाडौँ महानगरपालिका कार्यालयमा मङ्गलबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा बजेट निर्माण, राजस्व सङ्कलन तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ । प्रमुख आचार्यले मङ्गलबार नै काठमाडौँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग पनि भेटवार्ता गरेका छन् ।

आविष्कार केन्द्रमा आविष्कार भएका सामग्री पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

“आविष्कार केन्द्रका अध्यक्ष पुनसँगको भेटमा उहाँहरुका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौँ । महानगरको हित हुने उपकरणको विषयमा जानकारी मागेका छौँ । उहाँले रचनात्मक सुझाव दिनुभएको छ”, प्रमुख आचार्यले भने ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.