www.tandavnews.com
Fact ~ In search of truth

आयमूलक कार्यक्रमलाई जोड दिँदै बन्दीपुर गाउँपालिका

तनहुँ।

बन्दीपुर गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका बासिन्दालाई लक्षित गरी आर्थिक आयआर्जनमूलक कार्यक्रमलाई जोड दिँदै आएको छ ।

गाउँगाउँका महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले सीपमूलक तालिमलाई प्राथामिकता दिएको हो । गाउँपालिकाले महिलाहरुका लागि सिलाइकटाइ गर्न मेशिन, सालको पातको टपरी र चप्पल उद्योग सञ्चालनका लागि केही दिनअघि तालिम प्रदान गरिसकेको छ ।

बन्दीपुर–६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा ल्याउने तयारीका साथ तालिम प्रदान गरिसकेको गाउँपालिकाले जनाएको छ । उक्त वडास्थित धरामपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए।

गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रमअन्तर्गत रु दुई लाख १३ हजार पाँच सयमा मेशिन खरिद गरी स्थानीय १२ जनालाई तालिम प्रदान गरिसकिएको जनाइएको छ । तालिमबाट सिकेका सीप तथा जनशक्तिलाई परिचानल गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ ।

तालिमपश्चात् सालको पातको टपरी र चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । बन्दीपुर–५ स्थित याम्पा महिला उद्यमी समूहलाई चारवटा सिलाइकटाइ मेशिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए ।

गाउँपालिका कार्यालयले बन्दीपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गरी सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम अघि बढाइएको छ । टपरी बनाउनका लागि स्थानीय बाह्र जनालाई तालिम प्रदान गरिसकेको जनाइएको छ ।

‘व्यास नगर समता’ विद्यालय साउनदेखि सञ्चालन हुने

व्यास नगरपालिकाले ‘व्यास नगर समता’ आवासीय विद्यालय आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय सञ्चालन गर्न लागिएको हो ।

उक्त प्रकृतिका विद्यार्थीहरुका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरी आवश्यकता माग गरिसकेको नगरपालिकाले जनाएको छ ।

विद्यालयमा खाना पकाउने भान्से, शिक्षिका, सुरक्षाकर्मी लगायतका जनशक्ति माग गरिएको नगरपालिकाका सूचना अधिकारी कुमारकञ्चन जिसीले जानकारी दिए । व्यास–७ शेशमटारमा रहेको क्यामिन कोट प्राथमिक विद्यालयमा ‘व्यास नगर समता’ विद्यालय २०७९ सञ्चालन ल्याउन लागिएको हो ।

एक मात्र सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्वविद्यालय निर्माण गर्न, विज्ञान तथा प्रविधिको पढाइ सञ्चालन गर्न अध्ययन गरी पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाभित्रका प्रावि, आधारभूत र माध्यमिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गरिने जनाइएको छ ।

व्यास–१३ र १४ का सामुदायिक विद्यालयमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधारका योजना कार्यान्वयन गर्ने लक्ष्य रहेको छ । कक्षा ६ सम्म सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्रका विद्यार्थीलाई सङ्घीय सरकारको सहभागितामा दिवा खाजाको प्रबन्धलाई प्रभावकारी रुपमा निरन्तरतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

नगरपालिकाभित्रका धार्मिक विद्यालय, मातृभाषामा शिक्षा प्रदान गर्ने विद्यालय तथा सामुदायिक सिकाइ केन्द्र सञ्चालनार्थ प्रोत्साहन गर्ने नीति रहेको छ ।

नगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय पाठ्यक्रम र वेदव्याससम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.