www.tandavnews.com
Fact ~ In search of truth

दुर्लभ ‘किङ्ग कोब्रा’को संरक्षण

 

 

ध्रुवसागर शर्मा,
गलेश्वर ।

म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोशेपानीको जङ्गलमा भेटिएको दुर्लभ ‘किङ कोब्रा’ अर्थात् राजनागलाई संरक्षणका लागि पहल थालिएको छ ।

Batas

किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेको सङ्ख्या बढेको र वासस्थान नजिकै आगो लगाएर भगाउन खोज्ने लगायतका गतिविधि बढेपछि डिभिजन वन कार्यालयले सर्प विशेषज्ञलाई नै ल्याएर स्थानीयवासीलाई सर्प संरक्षणसम्बन्धी जनचेतनामूलक बृहत् अन्तरक्रिया गरेको हो ।

राष्ट्रिय मावि घतानका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र स्थानीयवासीलाई सर्प विशेषज्ञ तथा सर्प संरक्षण समाज नेपालका अध्यक्ष महेन्द्र कटिला, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विमला लम्साल र डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले किङ कोब्राको महत्व र संरक्षणका लागि गर्नुपर्ने कार्यको बारेमा जानकारी गराए ।

विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका प्राणीशास्त्री एवं त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालले कोशेपानीको जङ्गलमा दुर्लभ ‘किङ कोब्रा’ अर्थात् राज नाग फेला पारेका थिए। किङ कोब्रा फेला परेपछि यस क्षेत्रमा हेर्न जानेको सङ्ख्या बढेको थियो ।

नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको चोखालले बताए । चोखालका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ । ‘किङ्ग कोब्रा’लाई नेपालीमा कालीनाग, राजनाग भनेर चिनिन्छ ।

किङ कोब्राको वैज्ञानिक नाम ओपिओपगुस हन्नह (Ophiophagus Hannah) हो । यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने सर्प भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुनसक्ने चोखालको अनुमान छ ।

अत्यन्त विषालु प्रजातिको सर्पका रूपमा लिइने यो सर्पलाई नचलाउने, नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालको भनाइ छ । म्याग्दीमा भेटिएको सो नाग ‘किङ्ग कोब्रा’ अर्थात राजनाग नै भएको किङ्ग कोब्राका विशेषज्ञ एवं हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका छन । विशेषज्ञ थापाका अनुसार नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ्ग कोब्राको सङ्ख्या अत्यन्त न्यून छ ।

किङ कोब्रा दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ देशमा मात्रै पाइन्छ । थाइल्याण्डको जङ्गली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त कम पाइने विशेषज्ञ थापाले बताए । विशेषज्ञ थापाका अनुसार किङ्ग कोब्राले आहाराको रूपमा अरु सर्पलाई नै खाने गर्दछ । कहिलेकाहीँ आफ्नै प्रजातिका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको थापाले जानकारी दिए ।

थापाका अनुसार यसलाई आइयूटिएन(विश्व संरक्षण सङ्घ)को रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको छ । त्यसैगरी नेपालको कानूनले पनि यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । थापाका अनुसार यो सर्प विश्वव्यापीरूपमा अति कमलाई मात्र जानकारी भएको सर्प हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.