www.tandavnews.com
Fact ~ In search of truth

गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला : राष्ट्रपति भण्डारी

पोखरा।
राष्ट्रपति विद्यादेवी भण्डारीले सीपमूलक, वैज्ञानिक, व्यवहारिक एवम् गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला भएको बताइन्।

पोखरा महानगरपालिका वडा नम्बर–१६ विन्ध्यबासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोह लाई मङ्गलवार सम्बोधन गर्दै उनले मुलुकको सर्वाङ्गीण विकास गर्ने आधार शिक्षा नै भएको बताइन्। राष्ट्रपति भण्डारीले प्राकृतिक श्रोत र सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशीलता प्रवद्र्धन गर्नका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्नेमा जोड दिइन् ।

गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित स्थापित गर्नु आजको आवश्यकता भएको भन्दै राष्ट्रपति भण्डारीले  एक्काइसौँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको महत्त्वलाई आत्मसाथ गर्नुपर्ने बताइन्।

Batas

उनले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत र साधनको पहिचान गर्दै तिनीहरूको उपयोग गर्नका लागि आवश्यक व्यवस्थापकीय क्षमता विकास गर्नु नै शिक्षाको मूल उद्देश्य रहेको पनि धारणा राखिन्।

राष्ट्रपति भण्डारीले शिक्षाको क्षेत्रमा सरकारले गरेको लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताइन्। उनले राज्यले शिक्षा क्षेत्रमा जति लगानी गरेको छ त्यहीँ अनुसार प्रतिफल प्राप्त गर्न नसकेको वर्तमान अवस्थामा विन्ध्यबासिनी माविलगायतका केही विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गरेकोमा खुसी व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रमा गुणस्तरीयता कायम गर्न जति लगानी गरेको छ लगानी अनुसारको प्रतिफल प्राप्त गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन्।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.