www.tandavnews.com
Fact ~ In search of truth

रक्सौल–काठमाडौँ रेलमार्गको फिल्ड सर्वेक्षण सम्पन्न हुँदै

वीरगञ्ज ।
रक्सौल–काठमाडौँ १ सय ४० किलोमिटर रेलमार्गको फिल्ड सर्वेक्षण चाँडै सम्पन्न हुने भएको छ ।

आगामी डिसेम्बर सम्ममा भारतको कोंकण रेल्वेको टोलीले उक्त परियोजनाको अन्तिम प्रतिवेदनसहित डीपीआर र अन्य परीक्षणसम्बन्धी प्रतिवेदन भारत सरकारलाई बुझाउने भएको छ । यो रेलमार्गको अध्ययन भारत सरकारको अनुदानमा भइरहेको हो ।

निर्माण पूर्वका सम्पूर्ण अध्ययन सकेर सन् २०२३ भित्रै रेलमार्गको निर्माण सुरु हुन सक्ने समाचार भारतीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् ।

Batas

हालसम्मको सर्वेक्षणले रक्सौलबाट काठमाडौँसम्म रेलमार्ग बनाउन सकिने देखाएको छ । सर्वेक्षणका सबै नतिजा सकारात्मक रहेको बताइएको छ ।

सर्वे टोलीका अनुसार तदारुकताका साथ काम भए रक्सौल–काठमाडौँ रेलमार्गको निर्माण सम्पन्न गर्न ४ देखि ५ वर्षसम्म लाग्ने अध्ययन टोलीको निष्कर्ष छ । रक्सौल–काठमाडौँ रेलमार्ग बहु प्रतीक्षित परियोजना पनि हो । रक्सौल काठमाडौँ रेलमार्गमा प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेल कुदाउन सकिने अध्ययनले देखाएको छ ।

सर्वेक्षण टोलीका अनुसार रक्सौल–काठमाडौँ रेलमार्ग १४० किलोमिटरको हुनेछ । यसमा अन्तिम ४० किलोमिटर खण्ड डबल ट्रयाक सहितको इलेक्ट्रिफाइड हुने जनाइएको छ । त्यसैगरी रक्सौलबाट ९९ किलोमिटरसम्म सिङ्गल लाइन ब्रोडगेज विद्युतीकरणका साथ बन्ने बताइएको छ भने काठमाडौँतर्फको ४० किलोमिटर खण्ड भने भौगोलिक अवस्थितिका कारण डबल ट्र्याकमा बनाइनेछ ।

भविष्यमा समस्या नआओस् भनेर उक्त खण्ड डबल ट्र्याकमा बनाउन खोजिएको हो । बाँकी ९९ किलोमिटर तराई खण्डमा पर्ने हुँदा ट्र्याक बनाउन सजिलो हुनेछ । रेलमार्ग तयार भएपछि ३ घण्टामै काठमाडौँबाट रक्सौल पुग्न सकिन्छ ।

यो परियोजना सम्पन्न गर्न खर्बौँ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र रेलमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने जनाइएको छ ।

कोंकण रेल्वेको टोलीले रक्सौलदेखि काठमाडौँसम्मकै अन्तिम सर्वेक्षणको काम अहिले गरिरहेको र टोलीले फिल्ड सर्वेक्षणका साथै पुल, सुरुङ बनाउनुपर्ने ठाउँको माटोको परीक्षण पनि गरिरहेको जनाइएको छ ।

सर्वेक्षण टोलीका अनुसार यो रेलमार्गको रक्सौलदेखि काठमाडौँसम्ममा १२ ओटा स्टेशन बनाइनेछ । रक्सौल, वीरगञ्ज, पर्साको बेलवा, बाराको मनहर्वा, सपही बजार, निजगढ, मकवानपुरको दियाल, शिखरपुर, साथीखेल, सिस्नेरी र काठमाडौँमा रेल स्टेशन बन्ने जनाइएको छ । रेलमार्गमा ३३ ओटा सुरुङ बनाउनुपर्नेछ भने सबैभन्दा लामो सुरुङ ८ किलोमिटरको हुने सर्वेक्षण टोलीले जनाएको छ ।

यसका साथै रक्सौल र काठमाडौँको बीचमा सानाठूला गरी ३०५ ओटा पुल बनाउनुपर्नेछ, जसमा ८०० मिटर लामो केबल ब्रिज पनि समावेश गरिएको छ । उक्त रेलमार्गको सबैभन्दा लामो पुल १ हजार ५०० मिटरको हुनेछ ।

रक्सौलदेखि ४७ किलोमिटर उत्तर आएपछि अमलेखगन्जदेखि जङ्गल र पहाडी इलाकामा रेल मार्ग निर्माण हुनेछ ।

२०७७ सालमै नेपाल सरकारले यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिदिन भारत सरकारलाई आग्रह गरे पनि कोरोना सङ्क्रमणको कारण सर्वेक्षण रोकिएको थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.