www.tandavnews.com
Fact ~ In search of truth

साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै

पाेखरा।
पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे ।

यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिए। कुराकानीकै क्रममा मोबाइल बैङ्किङ एप्स छ वा छैन ? इसेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उनले आफ्नो इसेवामा हाल पैसा नभएको जवाफ फर्काए।

सोको एक घण्टापछि आचार्यलाई काठमाडौँका एक साथीले मैले पठाइदिएको रु २५ हजार पाउनुभयो भनेर भन्नासाथ उनि झसङ्ग भए। यसबीचमा आचार्यले कसैसँग पनि पैसा मागेका थिएनन् । साथीले आफ्नो म्यासेन्जरबाट अनुरोध गरेपछि पैसा पठाइएको बताएपछि उनि आफूलाई प्रयोग गरेर कसैले साथीलाई ठगेको निचोडमा पुगे। मोबाइलमा आएको कोड पठाए लगत्तै आफ्नो फेसबुक नियन्त्रणमा लिएर म्यासेन्जरबाट विभिन्न व्यक्तिसँग पैसा माग गरिएको आचार्यले बताए।

Batas

उनले भने, “मोबाइलमा आएको लिङ्कको कोड दिए लगत्तै मेरो फेसबुक अकाउण्ट ह्याक गरी धेरै जनासँग पैसा मागिएको रहेछ । पछि साथीहरूले फोन गरेर पैसा पठाइदिएको छु भनेपछि मात्र ठगी गरिएको थाहा पाएँ ।” आफन्त तथा चिनजानका व्यक्ति तीन जनाबाट रु ६५ हजार ठगी भएको उजुरी लिएर आचार्य आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए।

उनि मात्र होइन, शनिबार मात्र पोखरामा एकै दिन छ जना बढी व्यक्ति फेसबुक आइडी ह्याक गरेर ठगिएको निवेदन लिएर प्रहरीकहाँ पुगेकाा थिए । पोखरा–१८ सराङकोटका सुजन भण्डारीको अवस्था पनि उस्तै थियो । आफ्नो काका नाता पर्ने चेतनाथ भण्डारीको फेसबुक आइडीबाट शनिबार राति ११ बजेतिर ई सेवाको पासवर्ड पठाउन भनेपछि उनले आफ्नै काकाले भनेपछि विश्वास गरेर दिए तर काकाको फेसबुक आइडी ह्याक गरिएको उनले भोलिपल्ट बिहान मात्र थाहा पाए।

भण्डारीले ई सेवाको पासवर्ड दिएपछि उनको नम्बरमा विभिन्न व्यक्तिबाट रु एक लाख जम्मा भएको र लगत्तै सो रकम अन्यत्र पठाइएको पाइएको छ । आफन्त, चिनेजानेका व्यक्तिबाट फेसबुक म्यासेन्जरमा अनुरोध भएका आधारमा विश्वासमा परेर रकम पठाउने ठगिने क्रम पोखरामा बढेको हो । यसरी ठगिनेमा सर्वसाधारण मात्र होइन, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मीलगायत समाजका शिक्षित भनिएका व्यक्तिसमेत परेका छन् । विश्वासका आधारमा बुझ्दै नबुझी पैसा दिँदा ठगिने क्रम बढ्दो छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले साइबर अपराधका घटना सचेतनाको अभावमा बढ्दै गएको बताए। प्रविधि र सुविधाको विकाससँगै आर्थिक प्रलोभन र सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेकाले उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उनको भनाइ छ ।

उनले भने, “फेसबुक ह्याक गरेर साथीभाइलाई पैसा पठाउन भन्ने र सो पैसा अन्यत्र डाइर्भट गरेर छिमेकी मुलुकलगायतबाट निकाल्ने गरेको पाइएको छ । कसैलाई पैसा पठाउनुभन्दा अघि एकपटक फोन गरेर निश्चित हुनुपर्दछ । फेसबुक, भाइबर, म्यासेन्जरमा आग्रह गरेका आधारमा पैसा दिएका ठगिनुभएको छ ।”

साइबर अपराधका घटनाबाट जोगिन व्यक्ति आफैँ सचेत बन्नुपर्ने उनले बताए। प्रनाउ तिवारीले भने “आफ्ना व्यक्तिगत विवरण, बैङ्क वित्तीय संस्था र डिजिटल माध्यमका अकाउण्ट र पिन, कोडलगायत विवरण सुरक्षित राख्नुपर्छ ।”

ठगी गर्नेले निरक्षर र ज्यालामजदुरी गर्ने व्यक्तिका विवरणका आधारमा नक्कली बैङ्क खाता र इसेवालगायतका आइडी खोल्ने र जो त्यस्ता घटनामा संलग्न हुन सक्दैनन् उनीहरूका खातामा पैसा गएको देखिने गरेकाले अनुसन्धान जटिल बन्ने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा साइबर अपराधका दुई सय ९७ उजुरी परेका थिए । यसमा पुरुष एक सय २७ र महिला एक सय ७० ठगिएको उजुरी छ । त्यसैगरी गत साउन महिनामा मात्र २९ उजुरी परेका छन् । अनलाइनबाट ठगीका ३३, गाली बेइज्जत र अश्लिल कुराका ३८, फेक आइडी ९६ र सामाजिक सञ्जाल ह्याक गरेर ठगी गरिएका एक सय २६ उजुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.