www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी र मुस्ताङको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद

म्याग्दी।

चार दिनदेखिको निरन्तरको वर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङ जिल्लाको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी र बाग्लुङ–बेनी सडक अवरुद्ध भएपछि जनजिवन प्रभावित भएको छ ।

पर्वतको जलजला गाउँपालिका–९ ज्यामिरेमा खसेको पहिरोले आज बिहानदेखि मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा शनिबार राति खसेको पहिरोका कारण बागलुङ–बेनी सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विस्तारका क्रममा रहेको मालढुङ्गा बेनी सडकका ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले डोजर परिचालन गरेर पहिरो पन्छाउन थालिएको जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले हाँडेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनगर्न बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयसँग समन्वय गरिएको बताए। उनका अनुसार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरो पन्छाएपछि बेनी–जोमसोम सडक भने आज बिहानदेखि सञ्चालन आएको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङका सर्वसाधारणलाई बागलुङ, पर्वत, प्रदेश राजधानी पोखरामा आवतजावत गर्न समस्या भएको छ । सडक अवरुद्ध हुँदा उपचारका लागि बिरामीलाई अस्पताल पु¥याउनसमेत कठिन भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलुलगायत कृषिउपजको निकासीसमेत प्रभावित भएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.