www.tandavnews.com
Fact ~ In search of truth

नवौँ राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर

पोखरा।
पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक थिए।

आज त्यही पोखरामा चार दशकपछि नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच औपचारिक उद्घाटन हुँदैछ । तत्कालीन समयमा दर्शकका रुपमा रङ्गशालामा आएका भट्टराईलाई त्यही प्रेरणाले अन्ततः अन्तर्राष्ट्रिय खेलाडीका रुपमा स्थापित ग¥यो ।

निरन्तरको अभ्यास र लगावका कारण राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका बक्सिङ प्रतियोगितामा आफूलाई अब्बल सावित गर्न सफल भट्टराई सन् १९९० मा पाकिस्तानमा सम्पन्न चौथो दक्षिण एशियाली खेलकुदका ‘सिल्भर मेडलिस्ट’ हुन।

Batas

उनी सन् १९८९, १९९० र १९९१ मा लगातर बक्सिङमा राष्ट्रिय च्याम्पियन बनेका थिए। सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उनले पहिलो सहभागितामा नै जुनियर च्याम्पियनको उपाधि हासिल गर्दै स्वर्ण पदक जितेका थिए। सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसीपमा उनले स्वर्ण पदक जितेका थिए।

नेपालले सन् १९९८ मा काठमाडौँमा भएको दक्षिण एशियाली खेलकुद(साग) मा दुई स्वर्ण, पाँच रजत र दुई कास्य पदक जित्दा उनी नेपाली टोलीको व्यवस्थापक थिए। फुटबल खेलसँगसमेत संलग्न भट्टराईले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को केन्द्रीय सदस्य हुँदै उपमहासचिवसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

प्रत्येक राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीको भाग्य र भविष्य निर्धाण गर्ने महत्वपूर्ण अवसरका रुपमा रहने भट्टराईले बताए। “यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडी तयार गर्नका लागि विशिष्ट योगदान गर्दछन्”, उनले भने, “प्रत्येक खेलाडीले प्रतियोगितामा आफूलाई योग्य सावित गर्दै खेल क्षेत्रको भविष्यका लागि अघि बढाउने यो महत्वपूर्ण अवसर हो ।”

प्रत्येक युवालाई खेलमा आकर्षित गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले राष्ट्रिय खेलकुद भइरहेको अवस्थामा पोखरा र आसपासका अभिभावकले आफ्ना बालबच्चालाई रङ्गशालामा ल्याएर खेल देखाउनुपर्ने बताए। पछिल्ला समयमा युवा विद्यार्थीमा मोबाइलमा झुम्मिने लतका कारण सिर्जनात्मकतामा कमी आउँदै गएको र कतिपय लागुऔषध जस्ता दुव्र्यसनीमा फसिरहेको जनाउँदै उनीहरूलाई स्वस्थ राख्नका लागि खेलप्रतिको लगाव बढाउनु जरुरी भएको उनको भनाइ छ ।

युवालाई अनुशासित बनाउन पनि खेलको महत्व रहेको उनले बताए। नेपाली खेलकुदका क्षेत्रमा अझै धेरै विकृति विसङ्गति कायमै रहे पनि त्यसलाई हटाउँदै खेलको विकास गर्नु जरुरी रहेको उनको भनाइ छ ।

पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुदले ठूलो सङ्ख्याका खेलाडीको भाग्य र भविष्य तय गर्ने जनाउँदै उनले यो नयाँ राष्ट्रिय खेलाडी तयार गर्ने महत्वपूर्ण अवसर भएको बताए। सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्र्घ(एनआरएन) गरी कूल ११ टोलीबीच प्रतिस्पर्धा हुने नवौँ राष्ट्रिय खेलकुदमा एक हजारभन्दा बढी पदकका लागि प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिए।

यस राष्ट्रिय खेलकुदमा स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस राष्ट्रिय खेलकुदले धेरै खेलाडीका लागि उनीहरूको खेल जगतको सुनौलो भविष्यको मार्ग तय गर्ने उनले बताए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.