www.tandavnews.com
Fact ~ In search of truth

शिक्षकहरुको दुर्व्यवहार अश्लील हैन भन्दै विज्ञप्ति

पोखरा
ताण्डव न्यूज ।

पोखरा ८ सिमलचौरमा अवस्थित ला ग्राण्डी इन्टरनेसनल कलेजका छात्रामाथि शिक्षकहरुबाट भएको दुव्र्यवहारको केही विद्यार्थीले खण्डन गरेका छन् । कलेज र ती शिक्षकको बचाउमा केही विद्यार्थी उत्रिएका हुन् ।

फेसबुकमार्फत विज्ञप्ति सार्वजनिक गरेका ला ग्राण्डीमा अध्ययनरत विद्यार्थी एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यसमेत रहेका विकल पौडेलले सम्पूर्ण विद्यार्थी तथा पीडित विद्यार्थीहरुको सहमतिमा हस्ताक्षरसहितको विज्ञप्ति निकालिएको दाबी गरेका छन् ।

Batas

कलेज प्रशासनले गरेको निर्णय न्यायोचित भएकोचाहिँ उनीहरुको ठहर छ । छात्राहरुमाथि दुव्र्यवहारको घटना सार्वजनिक भएपछि कलेजले ४ शिक्षकलाई निष्कासन गरेको छ । ‘दोषी’ करार गरेरै शिक्षक निष्कासन गरिसकेको घटनामा केही विद्यार्थी पनि कलेजको बचाउमा उत्रिएका हुन् ।

१०३ विद्यार्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ४ जना शिक्षकबाट केही छात्राहरुलाई फरकफरक समयमा कक्षा समयभन्दा बाहेक र अध्ययनसँग असम्बन्धित व्यक्तिगत म्यासेज गरेको नै प्रमुख विषय रहेको उल्लेख छ । ‘त्यसबाहेक अन्य अश्लील हर्कत नगरेको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

शिक्षकहरुबाट प्रेषित म्यासेज तथा व्यक्त गरिएका कुराहरु शिक्षकको नैतिकता र मर्यादा विपरीत रहेको हामी सबै विद्यार्थीको ठहर भएको पनि विज्ञप्तिमा छ । ‘सोही अनुसार कलेज प्रशासन समक्ष औपचारिक रुपमा प्रस्तुत गरेकोमा कलेजको तर्फबाट सम्बन्धित विद्यार्थीहरु सँगको छलफल र निचोड अनुसार नै कलेजले कारबाही अघि बढाएको र उक्त निर्णय न्यायोचित भएको हामी सबैको ठम्याइ छ,’ विज्ञप्तिमा भनिएको छ ।

कलेजमा अध्ययनरत छात्राहरुले गत सोमबार कक्षामै प्रोजेक्टर लगाएर प्राध्यापकहरुको म्यासेजको ‘स्क्रिन सट पे्रजेन्टेसन’ दिएका थिए । त्यसपछि कलेज प्रशासनले शिक्षकहरु प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीपकुमार लम्साललाई निष्कासन गरेको छ ।

सो प्रिजेन्टेसनको भिडिओसमेत यतिबेला भाइरल छ । उक्त भिडिओमा छात्राहरुले ती शिक्षकबाट आउने अश्लील म्यासेजबारे रुँदै गुनासो पोखेको स्पष्ट देखिन्छ । सोही भिडिओमा एक शिक्षकले ‘गल्ती भयो, माफी दिन बाहेक अरु केही भन्ने वर्ड नै छैन’ भनेको पनि स्पष्ट छ ।

अर्की एक छात्राले शिक्षकबाट आउने म्यासेजले मेन्टल टर्चरसमेत भइरहेको उल्लेख गर्दै कलेज आउन नसक्ने अवस्था आएको समेत बताएकी छिन् । यस विषयमा ताण्डव न्यूजले ‘ला ग्राण्डीका ४ प्राध्यापकहरुले विद्यार्थीलाई अश्लील व्यवहार गरेपछि…’ शीर्षक समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा प्रेषित घटना ‘अपुष्ट भएको’ र ‘फरक परिदृश्य सिर्जना गरेको’ भन्दै १०३ विद्यार्थीको हस्ताक्षरसहित विज्ञप्ति सार्वजनिक भएको हो ।

विज्ञप्तिमा यस विषयलाई लिएर कुनै पनि माध्यमबाट समाचारहरु सम्प्रेषण नगरिदिन पनि आग्रह गरिएको छ । ‘यस सम्बन्धमा हामी विद्यार्थीहरुको तर्फबाट कुनै पनि थप गुनासो नरहेको हुँदा यस विषयलाई लिएर कुनै पनि माध्यमबाट समाचारहरु सम्प्रेषण नगरिदिनु हुन हामी सम्पूर्ण माझ अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

तर, पीडित विद्यार्थीहरुको के गुनासो छ भन्ने अनुसन्धान गर्नुपर्नेतिर र त्यस्ता गतिविधिको न्यायिक उपचार खोज्नुपर्नेतर्फ भन्दा घटनाको ढाकछोप र तोडमोड गर्नतिर केही विद्यार्थी लागेको देखिन्छ ।

हेर्नुहोस् विज्ञप्ति

सम्बन्धित न्यूज

‘ला ग्राण्डीका ४ प्राध्यापकहरुले विद्यार्थीहरुलाई अश्लिल व्यवहार गरेपछि…’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.