www.tandavnews.com
Fact ~ In search of truth

स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी सङ्गठन

चितवन।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठनले दल दर्तासँगै आफ्नो तयारी तीव्र पारेका छन् । त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीसँगै दल दर्ता गराएसँगै उनीहरु तयारीमा जुटेका हुन् ।

नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन हुने जिल्लाका सबै क्याम्पसमा दल दर्ताको काम भइरहेको बताउनुभयो । निर्वाचनको तयारीस्वरुप सबै विद्यार्थी सङ्गठनले दल दर्ता गराइरहेका छन् । नेपाल विद्यार्थी सङ्घ जिल्लाले सबै क्याम्पसमा निर्वाचनको तयारीमा जुटेको उनको भनाइ छ ।

भुसालले भने, “एक दुई क्याम्पसमा निर्वाचन आयोग गठनको प्रक्रियामा रहेकाले केही समय लागेको छ । अन्य क्याम्पसमा दल दर्ताको काम भइरहेको छ ।” नेपाल विद्यार्थी सङ्घले आफ्ना गरेका कामका बारेमा जानकारी गराउँदै विद्यार्थीमाझ गएको उनले बताए।

Batas

उनले भने, “निर्वाचनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठन र विद्यार्थीको सक्रियता बढेको छ ।” विद्यार्थी सङ्गठनबीच तालमेलका लागि केन्द्रमा प्रयास भइरहेको उल्लेख गर्दै उहाँले अहिले जिल्लामा सङ्गठन आआफ्नो तयारीमा लागेको जानकारी दिए। केन्द्रबाट निर्णय आएसँगै जिल्लामा पनि तालमेल हुने उनको भनाइ छ ।

नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पनि दल दर्तासँगै निर्वाचनका लागि सक्रिय बनेको छ । आफ्ना गतिविधिलाई विद्यार्थी माझ पु¥याउँदै सक्रियता बढाएको अध्यक्ष प्रकाश कालाखेतीले जानकारी दिए।

जिल्लामा स्ववियु निर्वाचन हुने १३ वटै क्याम्पसमा अखिलका विद्यार्थीको सक्रियता पहिलेको तुलनामा अहिले बढ्दै गएको उनको भनाइ छ । कालाखेतीले भने, “क्याम्पस क्याम्पसमा दल दर्तासँगै निर्वाचनका विषयमा छलफल र बहस भइरहेको छ ।” छलफलबाट उम्मेदवारको टुङ्गो लगाउन क्याम्पसमा रहेको आफ्नो सङ्गठनलाई निर्देशन गरिएको उहाँले जानकारी दिए।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला इञ्चार्ज अविनाश रम्तेलले सबै सङ्गठन निर्वाचनका लागि दल दर्तामा व्यस्त भएको बताए। निर्वाचनको मिति नजिकिँदै जाँदा सङ्घसङ्गठनले आफ्ना कार्यक्रम विद्यार्थीमाझ केन्द्रित गर्दै लगेको उनको भनाइ छ । सुरुआती समयमा २०६५ सालको स्ववियु निर्वाचनमा जस्तो विद्यार्थीमा उत्साह नदेखिएको भए पनि अहिले विस्तारै निर्वाचन केन्द्रित माहोल बन्दै गएको उनले बताए।

हरेक क्याम्पसमा आफ्ना गतिविधिलाई विद्यार्थीमाझ लैजाने काम भइरहेको छ। रम्तेलले भने। गठबन्धनको कुरा केन्द्रमा चलिरहेको उल्लेख गर्दै उहाँले केन्द्रको निर्देशनअनुसार आफूहरु अघि बढ्ने बताए।

त्रिभूवन विश्वविद्यालयले जारी गरेको निर्वाचन तालिका अनुसार यही फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता, २१ गते मतदाता सूची प्रकाशित, २५ गते मतदाता सूचीउपर दाबी विरोध र अन्तिम नामावली प्रकाशन, २६ गते प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन पत्र वितरण, फागुन २७ गते प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नामावली दाखिला, प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यस्तै फागुन २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध, दाबी विरोध उपर छानविन गरी उम्मेदवारको नामावली प्रकाशन, २९ गते नाम फिर्ता लिने, र अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका तय भएको छ । सामुदायिक क्याम्पसमा भने दल दर्ताको काम आज जारी छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.