www.tandavnews.com
Fact ~ In search of truth

काठेखोला गाउँपालिकाको प्रशासनिक भवन अधुरै

बलेवा।
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको बिहुँपोखरामा प्रशासनिक भवन अधुरै छ । दोस्रो तलाको ढलानपछि पिलर ठड्याइए पनि बाँकी कामले दुईदेखि पूर्णता पाउन सकेको छैन ।

दोस्रो तलासमेत कार्यालय प्रयोजनाका लागि कोठा तयार गर्ने गरी तीन वर्षअघि भवनको निर्माण सुरु गरिएको थियो । बजेट अभावका कारण काम रोकिएपछि भवन जीर्ण बनेको छ । वडा कार्यालय आफ्नै बलबुतामा तीन वर्षअघि निर्माण थालेको भवनबाट सबै प्रशासनिक काम त हुन्छ, तर भवन पूरा भएको छैन ।

“वडाकै बजेटबाट भवन निर्माण थालेका हौँ तर, अझै पूरा भएको छैन”, निवर्तमान वडाध्यक्ष शिवप्रसाद कँडेलले भने। आर्थिक वर्ष २०७६/७७ देखि भवन निर्माण सुरु भएको हो । वडाको बजेट, गाउँपालिकाको तोकादेशमा प्राप्त बजेट र गण्डकी प्रदेशको स्थानीय पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोग गरी रु ८० लाख खर्च भएको छ । रु ५५ लाख वडा कार्यालय र स्थानीय पूर्वाधार क्षेत्र विकास कार्यक्रमको रु २५ लाख अनुदानमा भवन तयार भएको वडासचिव शिवबहादुर थापाले बताए।

Batas

भुइँतला र पहिलो तलाको काम सकिएको भए पनि दोस्रो तलामाथिको कामका लागि समयमा बजेट नपाउँदा भवन छानोविहीन बनेको छ । “चालु आवको हिउँदे अधिवेशनबाट रु १० लाख गाउँपालिकाले विनियोजन गरेको छ”, थापाले भने, “ढलान गर्न त बजेट नपुग्ला ट्रस हालेरै भए पनि भवनले छानो पाउँछ ।” भवन निर्माणपूर्व वडा कार्यालय भाडाको घरबाट सञ्चालित थियो । मासिक रु सात हजार भाडा तिर्दै आएको वडाले भवन बनेपछि भने भाडामा खर्च हुने रकम विकास निर्माणमा खर्चिने गरेको छ ।

गत वैशाखदेखि अधुरै भवनबाट वडा कार्यालयका सेवा प्रवाह हुँदै आएका छन् । वडास्तरमा हुने सार्वजनिक कार्यक्रमका लागि प्रशासनिक भवनको सभाहल प्रयोगमा ल्याइने गरेको छ भने पहिलो तलामा रहेका छ कोठामा अध्यक्ष, वडा सदस्य, सचिव र अन्य कर्मचारीको प्रशासनिक कक्ष निर्माण गरिएको छ । प्रशासनिक भवनका सबै संरचना तयार हुँदा कर्मचारीलाई आवासीय सुविधा दिन सकिने वडा कार्यालयले जनाएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.