www.tandavnews.com
Fact ~ In search of truth

बढ्दैछ रगतको अभाव

रक्तदाता घटे, रगतको माग बढ्यो

चितवन।
रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ ।

अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही उमेर समूहका व्यक्ति काम तथा अध्ययनका लागि बाहिरिँदा रगतको अभाव हुन थालेको हो ।

यहाँ रक्तसञ्चार केन्द्रले रगत सङ्कलनका लागि शिविर सञ्चालन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले युवा जनशक्ति पलायन हुँदा रगतको अभाव बढ्दै गएको बताए।

Batas

विगतमा एउटा शिविरमा ७० देखि एक सय युनिट रगत सङ्कलन हुने गरेकामा हाल ३० देखि ५० युनिट मात्र सङ्कलन हुने गरेको छ । उनका अनुसार कतिपय शिविरमा १०–१५ युनिट मात्रै रगत सङ्कलन हुने गर्दछ । कुनै दिन चार वटा शिविरबाट रगत सङ्कलन गर्दा समेत एक सय युनिट पु¥याउन मुस्किल हुने पौडेलको भनाइ छ ।

“एक वर्षमा तीन सयसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने गरेको छ । दश जोड दुई पढेर अध्ययनका लागि बाहिर गएको जनशक्ति तथा रोजगारीका लागि बाहिरिने युवा मुख्य रक्तदाता हुन्”, उनले भने। यो जनशक्ति बाहिरिँदा रगतको अभाव भएको हो ।

यहाँ क्यान्सरका बिरामी, दुर्घटनाका घाइते, शल्यक्रियामार्फत् गरिने प्रसूति र अन्य उपचारमा रगत धेरै माग हुने गर्दछ । दैनिक चितवन र छिमेकी जिल्लाबाट उपचारका लागि आउने बिरामीका आफन्त रगतको खोजीमा भौतारिन बाध्य छन् ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चैतदेखि साउनसम्म गर्मीको मौसममा रगतको अभाव बढ्ने गरेको छ । दैनिक एक सय ५० युनिटको हाराहारी रगतको माग हुने गर्दछ । यहाँ सञ्चालन हुने शिविरमा ७५ युनिट मात्रै रगत सङ्कलन हुने गरेको छ । बाँकी अपुग रगत बिरामीका आफन्तले आफन्त, इष्टमित्र, छरछिमेकी, स्वयंसेवी रक्तदाता र विगतमा रक्तदान गरेकाहरुको खोजी गरी व्यवस्थापन गर्दै आएका छन् ।

केन्द्रले चितवनसहित छिमेकी जिल्लामा रक्तदान कार्यक्रम गरेर रगत सङ्कलन गर्ने गरेको छ । गत आर्थिक वर्षमा ती जिल्लाबाट मात्रै शिविरमार्फत् तीन हजार युनिट रगत सङ्कलन गरिएको थियो ।

पोखराबाट प्रशोधन गरिएको दुई हजार पाँच सय युनिट रगत ल्याएर बिरामीलाई चढाइएको थियो । कलेजो प्रत्यारोपण गर्न रगत अभाव भएपछि बिरामीका आफन्तले काठमाडौँबाट दुई सय ५० युनिट रगत यहाँ झिकाएका थिए ।

रक्तदाता घटे, रगतको माग बढ्यो

रगत सङ्कलनका लागि चितवनबाट सर्लाहीसम्म पुग्नु परेको सभापति पौडेलको भनाइ छ । उनले व्यापकरूपमा रक्तदानसम्बन्धी जनचेतना कार्यक्रम आवश्यक रहेको समेत बताए। खेर जाने रगतले कसैको ज्यान बच्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

जिल्लामा वार्षिक ५० हजार युनिट हाराहारी रगतको माग हुने गरेकोमा ६० प्रतिशत मात्रै सङ्कलन हुने गरेको पौडेलले बताए। उनका अनुसार रक्तदातालाई उत्प्रेरित गर्न स्थानीय तहले रक्तदान कार्यक्रममा सहयोग गर्दै आएका छन् । जिल्लामा सङ्घीयस्तरको दुई ठूला अस्पताल, दुई मेडिकल कलेज, २० निजी अस्पताल सञ्चालनमा छन् ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.