www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा ८ कार्यलय र १९ घरमा तोडफोड र चोरी

राति तोडफोड तथा चोरी भए पनि स्थानीयवासी र कर्मचारी, जनप्रतिनिधिले बिहान मात्रै थाहा पाए

गलकोट

बागलुङको निसीखोला गाउँपालिकाको विभिन्न कार्यालय, विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ । मंगलबार राति गाउँपालिकाको कार्यलयसहित वडा नं ३ र वडा नं ४ को कार्यालय, प्रभा मावि, जनजीवराज सुशीला मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल र रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताएका छन् ।

निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरप्रष्ट बनाएको गौतमको भनाइ छ । कागजात राख्ने दराज तोडफोड र सिसी क्यामेराको तारसमेत काटिएको छ । सामान भने हराएको अहिलेसम्म देखिएको छैन । यद्यपि यसबारेमा सामान चेकजाँच भइरहेको छ । चोरले वडा नं ३ को वडा कार्यलय तोडफोड गरेको छ भने त्यहाँबाट रु ६०० चोरेको सूचना अधिकारी गौतमले बताए ।

Batas

वडा नं ४ को कार्यालय पनि तोडफोड भएको छ । कार्यालय तोडफोडसँगै रु ११ हजारसमेत चोरेको वडा कार्यालयले जनाएको छ । वडा नं ३ र ४ दुवै कार्यालयको ढोका तोडफोड भएको छ । वडा नं ४ मा रहेको महिला सहकारीको कार्यालय ढोकासमेत तोडफोड गरेको छ ।

३ विद्यालयमा तोडफोड भए पनि कुनै सामान हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले जानकारी दिए । बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुलबाट कार्यलयको ढोका तोडफोड गरी रु १० हजार चोरी भएका विद्यालयले जनाएको छ । चोरी गर्ने समूहले विभिन्न कार्यालयसँगै– १९ घरमा तोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ । वडा नं २ मा २ र वडा नं ३ मा गरेर १७ वटा घरमा तोडफोडसँगै नगद र जिन्सी चोरी गरेको सूचना अधिकारी गौतमले बताए ।

वडा नं– ३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे २ तोला सुन र १ लाख नगद चोरी गरेको गाउँपालिकाले जनाएको छ । विभिन्न कार्यलय, विद्यालय र १९ घरबाट रु १० लाख बराबरको नगद र जिन्सी चोरी भएको उनले जानकारी दिए ।

राति तोडफोड तथा चोरी भए पनि स्थानीयवासी र कर्मचारी, जनप्रतिनिधिले बिहान मात्रै थाहा पाएका थिए । प्रभा माविमा राति १ बजे तोडफोड भएको थाहा पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाको कार्यालय भने बिहान ७ बजे कर्मचारी आउँदा ढोका खुल्लै देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

गाउँपालिकाले क्षति भएका सबै घर तथा कार्यलयको निरीक्षण गरेर क्षति विवरण तयार पारिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । उनले गाउँपालिकाको कार्यालयमा धेरै क्षति नभए पनि विभिन्न वडा र घरमा लाखौँको चोरी भएको जानकारी दिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको र आवश्यक अनुसन्धान भइरहेको बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.