www.tandavnews.com
Fact ~ In search of truth

युवाको उमेर १६ देखि ३५ वर्ष राख्नेबारे छलफल

काठमाडौं ।
नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ । अहिले युवाको उमेर १६ देखि ४० वर्ष मानिँदै आएकोमा अब युवा १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार सरकारी र विभिन्न सरोकारवाला निकायबीच युवाको उमेर पाँच वर्ष घटाउनेबारे छलफल सुरु भएको हो । “संयुक्त राष्ट्रसङ्घ र विश्वमा भएको अभ्यासका आधारमा नेपालमा पनि युवाको उमेर कम गर्ने भन्ने बारेमा छलफल सुरु भएको छ”, उनले भने, “१६ देखि ३५ वर्षबीचको उमेरलाई युवा भन्ने विषयमा छलफल भएको हो । चाँडै निष्कर्षमा पुग्छौँ ।”

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ र राष्ट्रिय युवा नीति, २०७२ ले युवाको उमेर १६ देखि ४० वर्षको उमेर समूहलाई परिभाषित गरेको छ ।

Batas

संयुक्त राष्ट्रसङ्घ र विश्व बैंकले युवाको उमेर १५ देखि २४ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ । कार्यकारी उपाध्यक्ष बस्नेतले अधिकांश देशमा युवाको उमेर ३५ वर्षसम्म राखिएकाले नेपालमा पनि १६ देखि ३५ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गर्नुपर्ने सुझाव आएको बताए।

विभिन्न देशमा युवाको परिभाषा पनि फरक फरक रहेको छ । भारतमा १६ देखि २९ वर्ष, चीनमा १८ देखि ३५ वर्ष, बङ्गलादेश र फिलिपिन्समा १५ देखि ३० वर्ष, जर्मनीमा १४ देखि २६ वर्ष, दक्षिण अफ्रिकामा १५ देखि २९ वर्षका उमेर समूहलाई युवाको रुपमा परिभाषित गरिएको छ ।

नेपालमा पनि सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन नसकिरहेको छैन । ‘युथ भिजन–२०२५’ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ ।

युवाको जनसङ्ख्या पनि बढ्यो

नेपालमा युवाको जनसङ्ख्या बढेको छ । दश वर्षमा दुई दशमलव २१ प्रतिशतले युवाको जनसङ्ख्या बढेको पाइएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत पुगेको छ । अर्थात् युवाको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार एक सय ७३ रहेको छ । यसभन्दा अघि विसं २०६८ को जनगणनामा युवाको जनसङ्ख्या ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड छ लाख ८९ हजार आठ सय ४२ रहेको थियो ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.