www.tandavnews.com
Fact ~ In search of truth

भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा

गोरखा ।

गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)ले जानकारी दिए ।

गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार छ सय ४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो । बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटवापत प्रतिबीमा पोलिसी रु २० लागत परेको अध्यक्ष बन्जराले बताए ।

Batas

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरेको उनले बताए । “राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ”, अध्यक्ष बन्जराले भने, “सम्झौतासँगै बीमा कार्यक्रम पनि लागू भएको छ ।”

गाउँपालिकाले गरेको सम्झौताअनुसार अब पालिकाभित्रका नागरिकको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसीअनुसारको उपचार खर्च प्राप्त गर्ने उनको भनाइ छ । त्यस्तै नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका कसैको कुनै पनि प्रकारको दुर्घटनाबाट ज्यान गुमाएमा समेत बीमा कम्पनीले सम्बन्धित परिवारलाई रु ५० हजार उपलब्ध गराउने गरी बीमा पोलिसी लागू भएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिए ।

बीमा कम्पनी र गाउँपालिकाबीच भएको सम्झौता आगामी २०८१ जेठ १५ गतेसम्म लागू हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। सम्झौताअनुसार गाउँपालिकावासी सबै नागरिकले अब दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अङ्गभङ्ग, औषधोपचार आदि सुविधा प्राप्त गर्नेछन् । बीमाका शर्तहरू सामूहिक दुर्घटना बीमालेखबमोजिमको हुने पनि सम्झौतापत्रमा उल्लेख छ । सम्झौताअनुसार दुर्घटनामा परेका बिमितको उपचार खर्च बीमालेखको अधिनमा रही सक्कली बिल बुझाएपछि प्राप्त गर्नेछन् । सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका छन् ।

 

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.