www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

लमजुङ ।

विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका हुन् । कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात् फष्टाउन थालेको पर्यटन क्षेत्र पुनः बर्खाले थला पारेको छ । विदेशी पर्यटक यतिबेला एक दुई दिन विराएर दुई चार जना मात्र आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्रले जनाएको छ ।

यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भने ,“केही समय अघिसम्म पर्यटकको चलपहल हुँदा दैनिक रु ३०/४० हजारभन्दा बढी आम्दानी हुने गरेपनि यतिबेला पर्यटक नआउदा दुई चार पैसा देख्न पनि मुस्किल हुन थालेको छ । हाम्रो मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक हो, पर्यटक आए आम्दानी, नआए समस्या हुने गरेको छ ।” बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुने कारणले पर्यटक दुई तीन महिनासम्म नआउँदा व्यवसाय पनि नचल्ने भएकाले निराश हुन परेको उनले बताए ।

Batas

अर्का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने , “पर्यटकको आगमन ठप्प भएसँगै आम्दानी पनि ठप्प भएको छ ।” व्यवसाय चलायमान हुँदै जाँदा बर्खाका कारण पुनः पर्यटक घटेकाले पदमार्ग सुनसान भएसँगै आफू मात्र नभइ यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी निराश हुन थालेको उनको भनाइ थियो ।

यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ ।

सन् २०२३ सुरु भएयता हालसम्म यस पदमार्गमा नौ हजार बढी पर्यटकको आगमन भएको एक्याप पर्यटक जाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए । उनका अनुसार यसअघि फ्रान्स, जर्मनलगायत देशका बढी पर्यटक आएका थिए । बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन ह्वात्तै घटेको उनको भनाइ थियो । पर्यटक नआउँदा पर्यटन व्यवसायी मात्र नभइ आफू पनि फुर्सिदिलो बन्न पुगेको पर्यटन सहायक गुरुङले सुनाए ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.