www.tandavnews.com
Fact ~ In search of truth

कैदी ‘मनोज लावती’लाई सरुवा गर्न लाग्दा झापा कारागारमा आगजनी र ढुङ्गामुढा

झापा ।

झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ ।  आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।
Batas
मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।
उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा सुरु गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै नियन्त्रण भएको बताए । “अहिले स्थिति नियन्त्रणमा आइसकेको छ”, उनले भने, “कैदीलाई सरुवा गर्न लाग्दा भित्रबाट हुलदङ्गा गरेको पाइयो ।”
आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए । असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुङ्गामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन् ।
प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए । कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनीभित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.