www.tandavnews.com
Fact ~ In search of truth

तिहारमा फूलको मूल्य बढ्ने

काठमाडौँ :
विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो ।
Batas
यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य रू ७५ र खुद्रा मूल्य रू एक सय २५ देखि रू एक सय ५० सम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनका अनुसार सोही माला गत वर्ष उपभोक्ताले रू एक सयसम्म तिरेर प्रयोग गरेका थिए ।
त्यस्तै, मखमलीको मालाको मूल्य थोकमा रू ४५ र खुद्रामा रू ६० देखि रू ७० पर्ने तामाङले बताए । उनका अनुसार मिक्स माला होलसेलमा रू तीन सय र खुद्रामा रू पाँच सयसम्म पर्ने देखिएको छ । गोदावरी फूलको माला भने रू एक हजारदेखि रू तीन हजारसम्म पर्ने एसोसिएसनले अनुमान गरेको छ ।
गत वर्ष नौ लाख माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाखमात्र माला ल्याउन लागिएको छ । गत वर्ष ३१ लाख माला खपत भएको बताइएको छ । गत वर्ष तिहारमा मात्रै रू २५ करोड फूलको कारोबार भएको थियो । यस वर्ष रू ३१ करोड २८ लाख कारोबार हुने अनुमान गरिएको छ ।
पछिल्लो सयम स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने देखिएको छ ।  यस वर्षको तिहारका लागि ३५ लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको छ । जसमा ३० लाख माला स्वदेशी उत्पादनले पुग्ने र बाँकी पाँच लाख छिमेकी मुलुक भारतबाट आयात गरिने भएको छ ।
पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.