www.tandavnews.com
Fact ~ In search of truth

‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ सुरु

गण्डकी :

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ ।

प्रतिोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सङ्, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा केहीबेरअघि यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गरे ।

Batas

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको प्रमुख पर्यटकीय सहर पोखरामा आयोजित प्रतियोगिताले नेपालको पर्यटनका साथै खेलकुद क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने बताए । यसअघि चिनियाँ दूतावासको सहयोगमा पोखरामा आयोजित ‘ड्रागन बोट फेस्टिबल’बाट पनि पोखराको प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाह भएको उनले बताए ।

“पर्यटकीय हिसाबले गण्डकी प्रदेश निकै धनी प्रदेशको रुपमा रहेको र थुप्रै सम्भावनासमेत बोकेका कारण यस प्रदेशको पर्यटनलाई थप उचाइमा पु¥याउन चिनियाँ सरकारसँग सहकार्य गर्नसमेत हामी इच्छुक छौँ”, मुख्यमन्त्रीले भने ।

हालै चीन र नेपालबीचको कोरोला नाका सञ्चालन भएको, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति जारी रहेको र चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन भएपछि पोखरा पर्यटकीय पूर्वाधारका हिसाबले सशक्त सहर बनेको मुख्यमन्त्रीले बताए । नयाँ विमानस्थललबाट अन्तर्राष्ट्रिय उडान गर्दै यस क्षेत्रको पर्यटनलाई चलायमान बनाउन चिनियाँ सरकारबाट सहयोग हुने विश्वास उनले व्यक्त गरे ।

नेपालका लागि चिनियाँ राजदूत छन् सङ्ले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई मजबुत बनाउन यस्ता प्रतियोगिताले योेगदान गर्ने बताए । पर्यटकीयस्थल पोखरामा यसअघि नेपाल चीन ड्रागन बोट फेस्टिबल सम्पन्न भइसकेको बताउँदै उहाँले त्यसले पोखरामा चिनियाँ पर्यटकलाई आकर्षित गर्न मद्दत पुगेको बताए ।

दुई देशबीचको आसपी सहयोग अभिवृद्धिका लागि प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्दै चिनियाँ राजदूतले यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिइने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याएको बताउँदै उनले त्यस क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गरिने जानकारी दिए ।

‘साझा समृद्धिका लागि दौड’ भन्ने नाराका आयोजित प्रतियोगिताअन्तर्गत सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार समूहमा प्रतिस्पर्धा आयोजना भएको छ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गरेका छन् । दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ ।

सामूहिक विधातर्फको विजेताले रु तीन लाख ६० हजार पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८८ हजार, तृतीयले रु दुई लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले रु एक लाख ४४ हजार पुरस्कार पाउने छन् ।

यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला तथा पुरुषले जनही रु एक लाख ४४ हजार पुरस्कार पाउने छन् । यसैगरी, उपविजेताले रु एक लाख आठ हजार, तृतीयले रु ५४ हजार र चौथोदेखि सातौँसम्मको रु १८ हजार र दशौँसम्मका धावकले रु नौ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

लेकसाइडको बाराहीघाटबाट सुरु प्रतियोगिता बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ ।

यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्रछात्रालाई जनही रु २५ हजार पाउने छन् । द्वितीयले रु २० हजार, तृतीयले रु १५ हजार, सान्त्वनाले रु १० हजार र पाँचौँले रु पाँच हजार पुरस्कार प्रदान गरिने छ ।

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.