www.tandavnews.com
Fact ~ In search of truth

टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

वासिङ्टन ।

टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ ।

भिडियो साझा गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको चिनियाँ एप टिकटकका लागि यो कानूनले ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन् ।

Batas

टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामु चिन्ता पैदा गरेको छ ।

टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ । सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् ।

रिपब्लिकन र डेमोक्र्याट दुवैले चुनावी वर्षमा टिकटकका भावुक युवा प्रयोगकर्ताहरूको क्रोधको जोखिम उठाएपछि एप प्रयोगको विपक्षमा आएको चेतावनीले धेरैलाई आश्चर्यचकित पारेको छ । अमेरिकी निर्वाचनमा युवाहरूको भावना र भूमिकालाई महत्त्वपूर्ण मानिन्छ ।

अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले मतदानपछि भने, “आजको मतदानमा संसद्भित्रका दलहरूबीचको एकताले चीनले अमेरिकीमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको देखाउँछ र हाम्रा शत्रुहरूलाई रोक्ने हाम्रो सङ्कल्पलाई सङ्केत गर्दछ ।”

उनले भने, “म सिनेटलाई पनि यो विधेयक पारित गर्न र राष्ट्रपतिलाई पठाउन आग्रह गर्दछु ताकि उहाँले यसलाई कानूनको रूपमा मान्यता दिन हस्ताक्षर गर्न सक्नुहुनेछ ।”

यो विधेयकको विषय सिनेटबाट अनुमोदन हुन अझै बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसद्बाट पारित भएर आए त्यसमा हस्ताक्षर गर्ने बताएको ह्वाइट हाउसले जनाएको छ ।

“यो प्रक्रिया गोप्य थियो र विधेयकलाई एउटा कारणले जाम गरिएको थियोः यो प्रतिबन्ध हो,” टिकटकका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन् “हामी आशावादी छौँ सिनेटले तथ्यहरू विचार गर्नेछ, उनीहरूका घटकहरूलाई सुन्नेछ र ७० लाख साना व्यवसाय र हाम्रो सेवा प्रयोग गर्ने १७ करोड अमेरिकीसँगको प्रभाव र अर्थव्यवस्थामा पर्ने असर महसुस गर्नेछ ।”

मतदानपछि टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूले संयुक्त राज्य अमेरिकामा एपका प्रयोगकर्ताहरूलाई आफ्ना सिनेटरहरूसहित आफ्ना कथाहरू बोल्न र साझा गर्न आग्रह गरेका थिए ।

रासस/एएफपी

© 2024, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.