www.tandavnews.com
Fact ~ In search of truth

ग्रामीण सडकमा यात्रुको सास्ती

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज

‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ यो उखान जस्तै पर्वतको ग्रामिण क्षेत्रमा सवारी साधनमा यात्रा गर्ने नागरिकहरु चरम समस्यामा छन् ।

सवारी चढेर यात्रा नगरुँ सम्बन्धित ठाउँमा पुग्नको लागि घण्टौँको पैदल यात्रा गर्नुपर्ने, सवारी चढौँ त भेडाबाख्रा खाँदिए जस्तै अटस मटस हुने गरी खाँदिएका यात्रु अनि त्यसैमाथि मनपरी भाडा । पर्वतमा पक्की सडकमा चल्ने सवारी साधनहरुको भाडा बैज्ञानिक रहेको भएपनि ग्रामिण क्षेत्रमा चल्ने सवारीले चर्को भाडा अशुल्दा नागरिकलाई चरम समस्या भएको छ ।

Batas

जिल्लामा कुल पक्की सडक ६३.३४ किलोमिटर रहेको छ भने ग्राबेल गरिएको सडक ६०.२७ र कच्ची सडक ८८०.६१ किलोमिटर रहेको तथ्यांक छ । सदरमुकाम बाहिर मोदी गाउँपालिकाको दोबिल्लाबाट फलेवास जोडने सडकमा दोबिल्ला देखि साइकलचोक सम्मको सडक मात्र पिच गरिएको छ । जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार पर्वतमा हाल सम्म खनिएका सडकहरुको कुल लम्बाई १००४.४२ किलोमिटर रहेको छ ।

मनपरी भाडा

कच्ची सडकमा चल्ने जीप र मिनि बसले मनपरी रुपमा भाडा अंशुली गरिरहँदा नागरिकहरु निरिह भएर तोकिएको भाडा तिर्न बाध्य छन् । जिल्लाका ग्रामिण क्षेत्रमा सञ्चालन भइरहेका जीप तथा अन्य सवारी साधनहरुले मनपरी भाडा लिएको भनी प्रहरीमा अहिलेसम्म उजुरी भने परिसकेको छैन् । जसका कारण पनि ग्रामिण क्षेत्रमा सवारी चलाउने चालकलाई खुलेआम मनमरी भाडा लिइरहेका छन् ।

गाडीमा चढेपछि बढी भाडा किन लिएको भनेर प्रश्न गर्ने हो भने, सवारीका स्टाफहरुले मुख भरीको जवाफ फर्काउने गरेको यात्रुको गुनासो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटका अनुसार पर्वतमा रुट परमिट कायम गरिएका सडकहरुमा बसको लागि प्रतिकिलोमिटर ७.५० पैसा तोकिएको छ भने जीपको लागि ८.५० पैसा तोकिएको छ । यद्यपी, जिल्लामा चल्ने सवारी साधनहरुले तेब्बर सम्मको भाडा अशुली गरिरहेको प्रस्ट देखिने गरेको छ । उजुरी नपरेकै कारण प्रहरीको ध्यान पनि यसतर्पm पुग्न सकेको छैन् ।

जोखिमपूर्ण सडक

हिउँदको समयमा धुलाम्य हुने जिल्लाका अधिकांश ग्रामिण सडक खण्डहरु बर्षायाम बर्षाको कारण हिलाम्य छन् भने जोखिम पनि उत्तिकै छन् । जिल्लाका सातैवटा स्थानीय तहमा सडक सञ्जालको विस्तार भएता पनि सोही अनुसारको व्यवस्थापन र निर्माण कार्य नभएका कारण हिउँद र बर्खा दुवै समयमा जोखिमपूर्ण हुने गरेका छन् । सडक सञ्जाल विस्तार गरिदा इन्जिनियरको मापदण्ड बाहिर, पहुँच र राजनीतिक आडमा विस्तार गरिदा पनि सडक जोखिमपूर्ण बन्दै गइरहेका छन् । जसका कारण पर्वतका ग्रामिण क्षेत्रमा साना ठूला धेरै दुर्घटना हुने गरेका छन् ।

त्यसमाथि बर्षायामको पानीले सडकखण्ड पूरै बगाउने र सडकमै ठूलो आकारमा कुलो बग्ने गरेका कारण पनि सडकको दुरावस्था छ । क्षत विक्षत अवस्थाकै सडक भएपनि नागरिकहरु भने त्यही जोखिम मोलेर भएपनि यात्रा गर्न बाध्य छन् । स्थानीय तहले विकासका अरु काम छोडेर भएको अधिकांश बजेट सडकमै खर्च गर्ने गरेको भएपनि सडकको जोखिम भने कम हुन सकेको छैन् ।

बिग्रिएका सडकका कारण बीचैमा गाडी फस्ने, सवारी पास नहुने लगायतका समस्याका कारण सवारी चालकहरुले सवारीमै कोदाली, वेल्चा, धानको भुस वोकेर हिँडनु परेको वताउँछन् । सम्बन्धित निकायहरुले योजनाहरुको प्रगतिको वारेमा स्थलगत अनुगमन गरिरहेको भएपनि ती अनुगमन देखावटी भन्दा हुन सकिरहेका छैनन् । कतिपय सडक मर्मत अन्तर्गतका कामहरु भने सम्पन्न भैसकेका छन् । धाईरिङ, लेकफाँट, शालिजामा विग्रिएको वाटोमा नाली वनाउने, सोलिङ गर्ने, जाली भर्ने जस्ता काम भएका छन् ।

क्षमताभन्दा बढी यात्रु

जिल्लाका ग्रामिण क्षेत्रमा चल्ने सबैजसो सवारी साधनहरुले क्षमताभन्दा अत्याधिक धेरै यात्रुहरुलाई भेडाबाख्रा कोचें जसरी खाँद्ने गरेका छन् । प्रहरीको आँखा छल्नको लागि व्यवसायीहरुले प्रहरी चेक पोस्ट रहेको ठाउँमा यात्रु झार्ने र चेक कटेपछि तिनै यात्रुलाई राखेर दुर्घटनाको जोखिमलाई बढाइरहेका छन ।

यातायात क्षेत्रमा रहेको सिन्डिकेटका कारण नयाँ बस वा जीप थप्न नदिने सञ्चालक समितिका कारण पनि सिमित सवारीले धेरै यात्रुलाई सेवा दिनुपर्ने बाध्यता रहँदै आएको छ । गाउँ गाउँमा ग्रेड नमिलाइकन बिस्तार गरिएका निकै ठाडा र निकै ओराला अनि साँघुरा र भीरका बाटामा पनि सवारीभित्र र छतमा पनि ठेलमठेल मान्छे र सामान राखेर सवारीहरु चल्ने गरेका छन् ।

सरमुकाम पिच सडकको बिजोग

निर्माण भएको साढे दुई दशक सम्म पनि मर्मत नहुँदा पर्वत सदरमुकाम कुश्मा बजारकै सडकको अवस्था लाजमर्दो छ । सडकका धेरै ठाउँमा ठूला–ठूला खाडलहरु छन्, पिच देख्न पनि पाइदैन त्यसमा पनि वर्षाको बाढी सडकमा पसेर कतिपय स्थानमा हिँडन समेत मुस्किल छ । कुश्माको जिरो किलोमिटरदेखि पुरानो बजार हुँदै बडागाउँसम्म करिब १२ सय मिटर मुख्य सडक छ ।

यो बाहेक शाखा सडकको लम्बाइ करिब ४ किलोमिटर छ । मुख्य सडकसँगै कालोपत्रे भएका सबै शाखा सडकमा अहिले पुरानो कालोपत्रे एकचौथाई पनि छैन् । कुश्माबजारको शिवालयचोक, बान्द्रेबीडी, लोकतन्त्रचोक, खत्रीचोक, मेलमिलापचोक र न्यूरोड सबैतिर कालोपत्रे उप्क्किएको छ । कालोपत्रे गर्दाताका बिच्छाइएका गिट्टी बजारमा छरिएका छन् ।

सडकका गिट्टी बाहिर निस्किएर कालोपत्रे उप्किएका ठाउँमा खाडल परेका छन् । वर्षा हुँदा ती खाडलमा पानी जम्छन् । पैदल यात्रुले समेत सडकको सास्ती खेप्नुपरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.