www.tandavnews.com
Fact ~ In search of truth

चाडपर्वमा ट्याक्सीको ‘मनपरि भाडा’ अफर

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरी घर भएका बाबुराम उपाध्याय कोजाग्रत पूर्णिमाका दिन नवलपरासी जानको लागि कुश्माको शिवालयचोकमा आए । उनले बिहानैबाट बस पर्खिएर बसेपनि दिउँसोको १२ बजेतिर मात्र बस आयो ।

तर बागलुङबाट आएको बस पहिले नै यात्रुले खचाखच भरिएको कारण उनले त्यो बसमा सिट पाएनन् । अन्ततः गन्तव्यमा पुग्नको लागि सवारीमा सिट नपाएका कारण उनी ट्याक्सीको खोजीमा लागे ।

Batas

उनले पोखरा सम्म मात्र ट्याक्सीमा जाने र त्यहाँबाट लामो दूरीको बस समातेर नवलपरासी जाने योजना बनाए । उनी ट्याक्सीमा पोखरा जान तयार त भए तर ट्याक्सीको भाडा सुन्दैमा उनलाई हैरानी भयो । ट्याक्सीमा एक हजार रुपैयाँ तिरेरै भएपनि उनले पोखरा जाने निर्णय गरे ।

बाबुराम जस्तै पर्वतको शिवालय चोकमा भेटिएका कतिपय यात्रुहरुले ट्याक्सी आतङ्कको विरोध गरेका छन् । ठूला बसमा खुट्टासम्म राख्ने ठाउँ नभएको मौकामा ट्याक्सी व्यवसायीहरुले भने मनलाग्दी रुपमा नागरिकहरुलाई ठग्ने गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतले कुश्माबाट पोखरा पुग्नको लागि ट्याक्सीको लागि भाडादर ५ सय ५० रुपैयाँ तोकेको छ ।

तर, कुश्मा हुँदै चल्ने ट्याक्सीहरुले भने खुलेआम रुपमा एक हजार वा पाएसम्म त्यो भन्दा पनि माथिसम्मको भाडा लिने गरेको पाइएको छ । यस अगाडि कुश्मा पोखरा यात्राको लागि ट्याक्सीको लागि ५ सय रुपैयाँ भाडादर तोकिएको थियो । तर पछिल्लो समयमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सरकार र व्यवसायीबीचको सहमतिमा १० प्रतिशत भाडा बढाउने निर्णयसंगै ट्याक्सीमा पनि ५० रुपैयाँ भाडा बढाउने निर्णय भएको थियो ।

ट्याक्सीहरुले मनपरी रुपमा भाडा माग्दा त्यसको बिरोध नगरी मागेजति पैसा दिन गरेका कारण पनि ट्याक्सी व्यवसायीहरुको लापरबाही बढेको मान्न सकिन्छ । विशेष गरी दशैँ तिहारलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय पर्वतले तयार पारेको सुरक्षा रणनीति र विकृति नियन्त्रणमा पनि अनियमित रुपमा भाडा सङ्कलन गर्नेहरुमाथि कारबाही गरिने उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्राको क्रममा यात्रुहरुले भोग्नुपरेका गुनासोको समाधान गर्ने भन्दै यात्रु सहायता कक्षा स्थापना पनि गरेका छन । यद्यपि यात्राको क्रममा अन्याय सहने बानी बसेका यात्रीहरुले प्रहरीमा उजूरी नगरेकै कारण पनि प्रहरीलाई मनपरी भाडा अशुली गर्नेमाथि कारबाही गर्न समस्या परेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले नागरिकहरुले गुनासो नगरेसम्म कुनै पनि सवारीलाई हचुवाकै भरमा दुःख दिन नहुने बताए ।

यात्रुको अत्याधिक चाप कारण दशैं मनाएर कर्मथलोमा फर्किनेहरुलाई सवारीसाधन पाउन नै मुस्किल भएको थियो । ग्रामीण क्षेत्रदेखि म्याग्दीको बेनी, बागलुङ बजार र पर्वतको कुश्मामा झरेका यात्रुहरु पोखरा, काठमाडौं, भैरहवा, नारायणगढ लगायतका ठाउँमा जाने गर्छन् । ठूला बसहरुमा यात्रुहरु खचाखच भरिएका कारण बसमा ठाउँ नपाएकाहरु चर्को मूल्य तिरेर ट्याक्सी रिजर्भ गरेर गन्तव्यमा जान बाध्य छन ।

यात्रुको चाप एकैपटक बढेकाले सीमित सङ्ख्याका सवारी साधनले यात्रुहरुलाई धान्ने अवस्था नभएको यातायात व्यवसायीहरु बताउँछन् । काठमाडौं, चितवन, बुटवल, भैरहवा लगायतका गन्तव्यमा पुग्ने सवारी साधनमा यात्रुहरुको चाप केही कम भए पनि पोखरा, दमौली, दुलेगौँडा लगायतका नजिकका ठाउँमा जाने यात्रीहरुलाई सबैभन्दा बढी कठिन भएको छ । सवारीसाधन अभावका कारण तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने, जोखिम मोलेर यात्रा गर्नुपर्ने र समयमा गन्तव्यमा पुग्न नसकेको यात्रुहरुको गुनासो छ ।

ट्राफिक प्रहरीद्वारा सादा पोसाकमा अनुगमन

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ट्याक्सीहरुले यात्रुहरुलाई मनपरी रुपमा भाडा अशुली गरेको हुन सक्ने आशंकामा सादा पोसाकमा अनुगमन सुरु गरेको छ । ट्याक्सीहरुले जथाभावी रुपमा भाडा लिएको भन्ने गुनासो सुनेसंगै ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गर्न भेष परिवर्तन गरेर अनुगमन सुरु गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रहरीहरु बिहानैदेखि सदरमुकाम कुश्माबजारमा रहेको ट्याक्सी पार्कमा सादा पोशाक लगाएर, पिठ्यूँमा झोला बोकेर यात्रु जस्तै बनेर ट्याक्सीहरुको अनुगमन गरेको देख्न सकिन्छ । पोशाकमा रहेका प्रहरीले ट्याक्सीमाथि अनुगमन गर्दा कति भाडा लिएको हो ? भन्ने बारेमा यात्रु र चालक कसैले पनि सत्य नबताएका कारण प्रहरीले आवरण परिवर्तन गरेर यात्रुको भेषमा बजारका विभिन्न भागमा खटिएका हुन् ।

यात्रुहरुले सवारी साधनले बढी भाडा लियो भनेर प्रहरीमा उजूरी नगरेका कारण प्रहरीहरु नै यात्रुको रुपमा सवारी लाग्ने ठाउँमा जानुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । यात्रुहरुका अनुसार कुश्माबाट पोखरा जाने गरेका ट्याक्सीहरुले प्रतिव्यक्ति एक हजार रुपैयाँ वा सो भन्दा बढी पनि भाडा असुली गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सहितको सहभागितामा भएको बैठकमा भाडादर पाँच सय पचास रुपैयाँ तोकिएको हो । सरकारले लागू गरेको नियम अनुसार मिटर जडित सार्वजनिक ट्याक्सीले यसअगाडि प्रति किलोमिटर ३५ रुपैयाँ भाडा लिने गरेकोमा अहिले ३९ रुपैयाँ लिन पाउने नियम छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.