www.tandavnews.com
Fact ~ In search of truth

पर्यटक तान्दै गलकोटको ‘राम्चेढुङ्गा’

 

 

बागलुङ ।

गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गा पर्यटकीय गन्तव्यका रुपमा चर्चित भएको छ । मनोरम भूवनोट, प्राकृतिक वातावरण र हिमशृङ्खला अवलोकन यहाँको मुख्य आकर्षणक बन्न थालेको छ । गाउँको उत्पादन, कला र संस्कृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।

Batas

समुद्री सतहदेखि एक हजार ९०० मिटर उचाइमा अवस्थित राम्चेढुङ्गा प्याराग्लाइडिङका लागि पनि उपयुक्त मानिएको छ । वडा कार्यालयको पहलमा गत असोजमा प्याराग्लाइडिङको सफल परीक्षण उडान गरिएको थियो । प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गरिएकाले उक्त स्थान पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको हो ।

गलकोट र आसपासका आन्तरिक पर्यटकको रोजाइँमा राम्चेढुङ्गा पर्न थालेको छ । छोटो अवधिको घुमघाम र वनभोजका लागि आउने पनि उत्तिकै छन् । पर्यटकको सुविधालाई लक्षित गरेर सडक, खानेपानी, शौचालय, वनभोजस्थलजस्ता संरचनाको निर्माण गरिएको छ ।

मञ्च, खेलमैदानजस्ता अन्य पूर्वाधार पनि बनेका छन् । राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले निर्माण र प्रवद्धर्नको काम गर्दै आएको छ । “पर्यटकीय पूर्वाधार निर्माणमा केन्द्रित छौँ”, केन्द्रका अध्यक्ष विष्णु थापाले भने । गत आवमा नगरपालिकाबाट छुट्याइएको  १० लाख  रुपैयाँ पूर्वाधारमा खर्च भएको छ ।

गाउँलेले पनि आर्थिक सहयोग र श्रमदान गर्दै आएका छन् । केहीले जग्गासमेत निःशुल्क उपलब्ध गराएका छन् । पदमार्ग, दृश्यावलोकन स्तम्भ, बगैँचा, विश्रामस्थल, मन्दिर, सङ्ग्रहालयलगायत संरचना पनि बनाउने योजना समितिको छ ।

“राम्चेढुङ्गालाई अर्को पर्यटकीय गन्तव्य घुम्टेसँग पदमार्गले जोड्ने योजना छ”, अध्यक्ष थापाले भने । पर्यटकीय पूर्वाधार निर्माणमा चालू आवमा कतैबाट पनि बजेट उपलब्ध नभएको समितिको गुनासो छ । नगरपालिका र वडाबाट पनि बजेट छुट्याइएको छैन ।

प्रदेश र केन्द्र सरकारसँग पनि बजेट माग्न समितिले पर्यटन विकासको अवधारणा बनाएको छ । राम्चेढुङ्गा नजिकको गाउँमा घरबास (होमस्टे) सञ्चालनका लागि समेत पहल अघि बढाइएको छ ।

वडा कार्यालयले प्याराग्लाइडिङको व्यावसायिक उडानको सम्भाबना देखेर लगानी गर्ने सोच बनाइएको छ । राम्चेढुङ्गामा एकीकृत पर्यटन विकास योजना बनाइने वडाध्यक्ष टीकाबहादुर थापाले बताए ।
मध्यपहाडी पुष्पलाल लोकमार्गबाट राम्चेढुङ्गा पुग्न पाँच किमी कच्ची सडक पार गर्नुपर्छ । पैदलयात्रा गर्न रुचाउनले एक घण्टामा गन्तव्यस्थल पुग्न सक्छन् । त्यहाँ पुग्दा देखिने अन्नपूर्ण, माछापुछ्रेलगायत हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्छ । गलकोट उपत्यका पनि राम्चेढुङ्गाबाट प्रष्टै देखिन्छ ।

पर्यटन प्रवद्धर्नको उद्देश्यले गएको पुस १५ मा आयोजित पर्यटन मेलाले पनि राम्चेढुङ्गाको महत्व बढाएको छ । तीन दिनसम्म चलेको मेलामा स्थानीय उत्पादन, कला, संस्कृति र खेलकूदले आकर्षण थपेको थियो । अघिल्ला वर्षमा वनभोजसहित सामान्य कार्यक्रम गर्दै आएको केन्द्रले पहिलोपटक मेला आयोजना गरेको हो । वर्षौंसम्म ओझेलमा परेको पर्यटकीय गन्तव्य गाउँलेको पहल र मेहनतपछि चर्चामा आएको हो ।    रासस

तस्बिर :गुगलबाट

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.