www.tandavnews.com
Fact ~ In search of truth

ताराखोलामा ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा

बागलुङ।

जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ ।

विद्युतीकरणका लागि तार विस्तार, मिटर जडानलगायतका काम भइरहेको ताराखोला जलविद्युत् लिमिटेडले जनाएको छ । “विद्युतगृहको परीक्षण सफल भयो”, आयोजनाका इञ्जिनीयर दिलबहादुर थापाले भने, “अब वितरणको काम बाँकी छ ।”

Batas

सिभिल र इलेक्ट्रो मेकानिकलतर्फको काम पूरा भएपछि आयोजनाबाट शनिबार परीक्षण उत्पादन गरिएको थियो ।१८ करोडको लागतमा बन्ने आयोजनाले ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने जनाइएको छ ।आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको छ । यस्तै गाउँपालिकाका एक हजार ६९१ जनाले शेयर हालेका छन् । लागत थप बढ्नसक्ने अनुमान गरिएको छ ।

गाउँपालिकाका पाँच वटै वडाका दुई हजार २०० घरधुरीमा विद्युत् पुर्याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं १ को अमरभूमिमा केन्द्रीय विद्युत् पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका छन् । प्रत्येक घरधुरीबाट न्यूनतम १५ हजारका दरले शेयर उठाइएको छ ।

“सक्नेले बढी पनि हाल्नुभएको छ”, आयोजनाका अध्यक्ष हिमाल विकले भने, “गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।” परीक्षण उत्पादन सफल भए पनि घरघरमा विद्युतीकरण गर्न अझै केही महीना लाग्ने उनको भनाइ छ ।

ग्राहकको घरमा ‘स्मार्ट मिटर’ जडान गर्ने आयोजना व्यवस्थापनको तयारी छ । पहिले सामुदायिक ढाँचाको आयोजना पछि कम्पनीमार्फत अघि बढेको थियो । विसं २०६८ मा निर्माण शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्तीजस्ता कारणले आयोजना पछि धकेलिएको हो ।

कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापनसमेत फेरिएको थियो । केन्द्रबाट अनुदान स्वीकृत भएपछि कामले गति लिएको इञ्जिनीयर थापाले बताए । पहिलो किस्ता अनुदान एक करोड ८२ लाख र दोस्रो किस्ता एक करोड ८९ लाख आयोजनाले पाइसकेको छ । कामको प्रगतिका आधारमा बाँकी रकम उपलब्ध हुने जनाइएको छ ।

स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा रहेको विद्युतगृहमा ल्याइएको छ । हिउँदमा ३८० किलोवाट विद्युत् उत्पादन हुने भए पनि वर्षायाममा ५०० किलोवाटसम्म विद्युत् उत्पादन हुने जनाइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.