अर्जुन कार्की,
ताण्डव न्यूज ।
धौलागिरी अञ्चल यातायात बस व्यवसायी समिति बागलुङका सवारी साधनहरुमा प्राथमिक स्वास्थ्य उपचारको लागि औषधिका बक्स राखिएको छ ।
वेलनेश टिम काठमाडौंको सहयोगमा बुधबार आजदेखि बागलुङमा नेपालमै पहिलो पटक सार्वजनिक यातायातहरुमा औषधिको फस्ट एड बक्स (पहिलो सहायकता बक्स) राखिएको हो ।हरेक घर फस्ट एड बक्स भन्ने नाराका साथ बागलुङबाट उक्त अभियानको सुरुवात गरिएको वेलनेश टिमकी अध्यक्ष नितु खड्काले बताए । बसमा यात्रा गर्दा विच बाटोमा यात्रुहरु विरामी हुँदा प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले औषधिको बक्स वितरण गरिएको अध्यक्ष खड्काले बताए ।
अध्यक्ष खड्काले आफुहरुले नेपालकै ७७ जिल्लाका हरेक घरमा फस्ट एड बक्स राख्ने योजना रहेको र त्यसको लागि फन्टको आवश्यकता परेर पहिलो चरणमा प्रति बक्स एक हजार रुपैयाँको दरले वितरण सुरु गरिएको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएको परिवारलाई न्यूनतम ५० रुपैयाँसम्ममा वितरण गर्ने जनाएको छ ।
बक्समा यात्रुहरुलाई सामान्य चोटपटक लाग्दा घाउमा लगाउने औषधि, टाउको दुःखेको, पेट दुःखेको, बमिट नआउने, जीवनजल लगायत १६ प्रकारका औषधि र औजारहरु रहेको र औषधि प्रयोगको लागि यातायातका चालक र सहचालकलाई पर्चा सहित तालिम दिइने अध्यक्ष खड्काले जानकारी दिए ।
वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर ३ की वडाअध्यक्ष लक्ष्मी बाँस्कोटाले अहिले चलेको अभियानले निरन्तरता पाउन सकेमात्र राम्रो हुने बताए । ‘धेरै जस्तो कार्यक्रम केही समय चल्ने पछि आफै बन्द हुने समस्या रहेको छ,’ वडाअध्यक्ष बाँस्कोटाले भने ‘यसलाई सबैले सहयोग गरेर भएपनि सधैभरी संचालन गर्न जरुरी छ ।’
उनले बसमा यात्राको क्रममा विच बाटोमा विरामी हुँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था यो अभियानले केहि हदसम्म अन्त्य गर्ने बताए । उनले प्रथमिक उपचार गरी चाडै अस्पताल पुर्याउन फस्ट एड बक्सले मद्धत गर्ने बताए ।धौलागिरी अञ्चल यातायात बस व्यवसायि समिति बागलुङले बुधबार प्रति बक्स एक हजार रुपैयाँको दरले २ सय ओटा बक्स खरिद गरेको वेलनेश टिमकी अध्यक्ष खड्काले जानकारी दिए ।
धौलागिरी अञ्चल यातायात बस ब्यवसायी समितिका अध्यक्ष उमेश केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव खेमराज लामिछाने र समापन मन्तव्य वरिष्ठ उपाध्यक्ष हरिविक्रम जिसीले गरेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.