www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा कपडा बैंक स्थापना

तनहुँ ।

लायन्स क्लब अफ तनहुँले दमौलीमा कपडा बैंक सञ्चालन गरेको छ ।

आर्थिकरूपमा विपन्न समुदायलाई लक्षित गरी क्लबले कपडा बैंक सञ्चालन गरेको हो । विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्ने उद्देश्यसहित कपडा बैंक स्थापना गरिएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार चाडपर्वका समयमा विपन्न समुदायका परिवारले रकम अभावले कपडा किन्न नसक्ने भएकाले कपडा बैंकबाट निःशुल्करूपमा कपडा उपलब्ध गराइनेछ ।

‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूलमन्त्रसहित स्थापना गरिएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । बैंकमा प्रयोग भएका कपडा राखिए पनि उक्त कपडा पुनःप्रयोगका लागि योग्य रहेका श्रेष्ठले जानकारी दिए।

“असहाय, गरीब तथा विपन्न व्यक्ति तथा समुदायले बैंकमा आएर छानेर कपडा लैजान सक्छन्”, श्रेष्ठले भने । बैंक स्थापनाका अवसरमा बन्दीपुर गाउँपालिका वडा नं १, २ र ३ मा बसोबास गर्ने सीमान्तकृत २५ चेपाङलाई कपडा वितरण गरिएको क्लबले जनाएको छ । कपडा पाएपछि आर्थिकरूपमा विपन्न चेपाङ समुदाय खुशी भएका छन् ।

वडा नं ३ का कृष्णबहादुर चेपाङले बैंक आफूहरुका लागि बरदान भएको बताए । “चाडपर्वमा नयाँ कपडा किनेर लगाउन सक्ने हैसियत छैन”, उनले भने, “बैंकबाट नयाँ जस्तै कपडा पायौँ ।” कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएका छन् । उक्त कपडा बैंक सोमबार, बिहीबार र शनिबार खुला रहने क्लबले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.