पोखरा
ताण्डव न्यूज ।
२०६९ कार्तिक २९ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको विन्ध्यवासिनी यातायात समिति संचालनमा आउँदा पुराना यातायात व्यवसायीबाट अवरोध खेप्नु परेको थियो । विन्ध्यवासिनी यातायातका केहि बसहरु तोडफोड समेत भयो ।
स्थानीयसँगै पोखराका मिडियाहरु सिण्डिकेट तोड्ने पक्षमा खुलेरै लागे । जनस्तरबाटै विन्ध्यवासिनी यातायातले राम्रो सपोर्ट पायो ।
तर सरकारले ल्याएको सिण्डिकेट खारेजीको निर्णयप्रति यतिबेला विन्ध्यवासिनी यातायात पनि आन्दोलनमा उत्रिएको देख्दा स्थानीहरु निरास छन् ।
‘दुई तीन वर्ष पहिले विन्ध्यवासिनी यातायात पोखरा नगर बसको सिण्डिकेटलाई तोड्दै संचालनमा आउने बताउँदा खुलेर साथ दिइयो,’ पोखरा–२१ का अमृत अधिकारी बताउँछन्, ‘अन्तत यो समिति पनि पुराना यातायात व्यवसायीसँग शरणमा परेर सिण्डिकेट कायम गरिनुपर्छ भनेर सेवा रोक्दा चित्त बुझेन’ उनले भने ।
सिण्डिकेट खारेजीको निर्णय विरुद्ध आन्दोलनरत यातायात व्यवसायी समितिहरुकै आन्दोलनमा समर्थन जनाउँदै आज शुक्रबार विन्ध्यवासिनी यातायात व्यवसायी समितिले आफ्नो मातहतका सवारी संचालन गरेको छैन ।
शुक्रबार विहान देखि नै पोखरामा सार्वजनिक यातायात संचालनमा नआउँदा सर्वसाधरणले सास्ती भोग्नुपरेको छ ।
सरकारले संघसंस्था नविकरणमा रोक लगाई अनिवार्य कम्पनी ऐन अन्तर्गत दर्ता भई सेवा संचालन गर्नुपर्ने प्रावधान ल्याएपछि व्यवसायीहरुले हिजो बिहीबार देखि नै रात्रि कालिन सेवा अबरुद्ध गरेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आबद्ध अन्य समितिहरुले पोखरामा गरेको आन्दोलनलाई समर्थन नजनाएको विन्ध्यवासिनी यातायात समितिले यसपटक भने सिण्डिकेट खारेजीको निर्णय विरुद्ध सरकारको विपक्षमा उभिएका यातायात व्यवसायीलाई साथ दिएको हो ।
हिजो खुलेर सिण्डिकेटको विरुद्धमा हाम्रो सेवा संचालन सहितको अभियान भन्दै हिड्ने विन्ध्यवासिनी यातायातका पदाधिकारीहरुलाई पुराना ढोंगी यातायात व्यवसायीले किनेको आरोप पोखराका स्थानीयको छ ।
यसबारे ताण्डव न्यूजले विन्ध्यवासिनी यातायातका सचिव प्रमोद दवाडीलाई जिज्ञासा राख्दा प्रशासनले सुरक्षा दिन नसकेका कारण सेवा संचालन गर्न नसकेको बताए ।
उक्त समिति नेपाल यातायात सर्वोच्च महासंघसँग आबद्ध छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.