www.tandavnews.com
Fact ~ In search of truth

बाढीपहिरोले म्याग्देका ७१ परिवार विस्थापित

कृष्ण न्यौपाने
दमौली, रासस ।

गत असार २८ र २९ गतेको बाढीपहिराबाट तनहुँको म्याग्दे गाउँपालिकाका ७१ परिवार विस्थापित भएका छन् । बाढीपहिराले घर भत्किएपछि सातवटै वडाका ती परिवार विस्थापित भएका हुन् ।

म्याग्दे गाउँपालिका–१ का ७, वडा नं २ का २७, वडा नं ३ का ८, वडा नं ४ का २, वडा नं ५ का ५, वडा नं ६ र वडा नं ७ का १४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । विस्थापित भएकाहरु छिमेकीको घरमा र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् ।

Batas

विस्थापित भएकाहरुलाई गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष रानाका अनुसार ती परिवारलाई नगद रु पाँच हजार र दैनिक उपभोग्य वस्तुहरु प्रदान गरिएको छ । “ गाउँपालिका आफ्ना वासिन्दाप्रति उत्तरदायी छ, जनताको दुःखमा सहयोग गर्नु गाउँपालिकाको दायित्व हो,” उनले भनिन् , “पहिलो चरणमा प्राप्त तथ्याङ्कका आधारमा राहत सहयोग गरेका छौँ ।”

विस्थापित भएका घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने क्रममा पहिलो चरणमा ७१ परिवारलाई राहत वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । उनका अनुसार अन्य जोखिममा रहेका बासिन्दालाई पनि वडाबाट प्राप्त हुने विवरणका आधारमा राहत वितरण गरिनेछ ।

गत असार २८ गते आएको बाढीपहिराका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि घरघरमै पुग्न थालेका छन् । नगरपालिकाका १२ वटै वडामा बाढीपहिराले क्षति भएकाले त्यसको यकिन तथ्याङ्क सङ्कलन गर्नका लागि जनप्रतिनिधिले अनुगमन सुरु गरेका हुन् ।

बाढीपहिराका कारण शुक्लागण्डकीका घर, सामुदायिक भवन, सडक, पुल, कुलो, मठमन्दिर, खानेपानी पाइप, बिजुलीको पोललगायत भौतिक संरचनामा क्षति पु¥याएको छ । क्षतिको निरीक्षण गर्नका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारदेखि अनुगमन सुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।

नगरप्रमुख किसान गुरुङ नेतृत्वको टोलीले वडा नं २, उपप्रमुख सविता रसाइलीको टोलीले ८ र ९, प्रवक्ता कुमालको टोलीले ५ र प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको टोलीले ३, ६ र ७ का विभिन्न स्थानमा पुगेर निरीक्षण गरेको छ ।

उक्त टोलीमा सम्बन्धित वडाका प्राविधिकसमेत रहेका छन् । प्राविधिकले क्षतिको तत्कालै लागत अनुमान निकाल्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उनले भने , “क्षतिग्रस्त संरचनाको तथ्याङ्क लिने र पीडामा रहेका नागरिकलाई सान्त्वना दिने गरेका छाँै ।”

तथ्याङ्क सङ्कलनपश्चात् घर भत्किएकालाई पहिलो प्राथमिकता दिएर व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । उनले भने , “घर भत्किएकालाई तत्कालै व्यवस्थापन गर्नेछौँ । त्यसपछि उच्च जोखिममा रहेकालाई स्थानान्तरण गर्ने र पहिराले अवरुद्ध मुख्य सडकहरु खुलाउने लगायतका काम गरिनेछ”, सुवेदीले भने ।

जिल्ला प्रशासन कार्यालयले बाढीपहिराका कारण जिल्लामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । बाढीपहिराबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन तथ्याङ्क लिने काम भइरहेको प्रजिअ बद्रीनाथ अधिकारीले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.