www.tandavnews.com
Fact ~ In search of truth

केही दिन वर्षाको क्रम बढ्ने: बाढी/पहिरोको सम्भावना

काठमाडौं ।

आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए ।

Batas

उनका अनुसार प्रदेश नं १ देखि प्रदेश नं ५ सम्म नै मौसम बदली भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही माथि नेपाल नजिक (उत्तरतर्फ) सरेको र स्थानीय वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ ।

आज बिहान तनहुँको स्याम्घा केन्द्रमा भारी वर्षा मापन भएको र थप पर्षा हुने देखिएकाले मादीलगायत साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशखाले जनाएको छ ।

यस्तै बिहान उदयपुर जिल्लाको उदयपुरगढी केन्द्रमा पनि भारी वर्षा मापन भएको र थप वर्षा हुने देखिएकाले त्रियुगालगायत साना नदीमा आकस्मिक बाढी हुने सम्भावना छ ।

त्यसको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्क रहन अनुरोध गरिएको छ । आज कोशी र नारायणी जलाधारका केही ससाना सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ । यस्तै कन्काई, कमला, वाग्मतीका ससाना नदीको जलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ ।

मौसमविद् कँडेलले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत मौसम बदली हुन थालेको जानकारी दिए । यसपटक भने प्रदेश १ देखि प्रदेश ५ सम्म बढी बदली हुने उनले बताए । केही स्थानमा भारी वर्षा हुने भएकाले पहिरो र बाढीको जोखिम हुने जानकारी दिँदै उनले सावधानी अपनाउन अनुरोध गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.