www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीको कदम विरुद्ध प्रचण्ड- माधव समुहको शक्ति प्रर्दशन आज

काठमाडौँ,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै चरणबद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल समूहको नेकपाले आज शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको छ ।

शक्ति प्रदर्शनकै लागि भनेर सो समूहले जिल्ला जिल्लाबाट राजधानीमा मानिस उतारेको छ । आजको प्रदर्शनमा १ लाख बढी प्रदर्शनकारी उतार्ने सो समूहले दावी गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना तथा विघटनको विरोधमा आयोजित शक्ति प्रदर्शनअघि राजधानीका विभिन्न ९ स्थानबाट जुलुस निकालिने छ ।

Batas

त्यसका लागि नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिले निर्देशिका नै जारी गरेर पार्टीका प्रदेश, जिल्ला, जनवर्गीय संगठन, मोर्चालगायतका साङ्गठानिक संरचनालाई प्रदर्शनमा सहभागी हुन निर्देशन दिएको छ ।

निर्देशिकामा प्रदेश प्रदेश, जिल्ला, जबस मोर्चा संगठनहरुले विरोध प्रदर्शन एवम् सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थिति गराउनुपर्ने भनिएको छ । प्रदर्शनकारीहरु तोकिएको ९ स्थानमा पौने ११ बजेसम्म भेला भइ सक्नुपर्नेछ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रमा भेला हुन भनिएको छ ।

सबै जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ भने त्यहाँबाट रत्नपार्क–बागबजार, पुतलीसडक–भद्रकाली–भोटाहिटी हुँदै भृकुटीमण्डप सभामा परिणत हुने संघर्ष समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।

जुलुसको नेतृत्व प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेश भट्टराई लगायतले गर्ने बताइएको छ । यस्तै विरोध सभालाई प्रचण्ड, नेपाल, झलनाथ खनाललगायतका सो समूहका नेताले सम्बोधन गर्नेछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.