www.tandavnews.com
Fact ~ In search of truth

लापरवाहीले कास्कीसँग सीमाना जोडिएका सामुदायिक वनमा आगलागी बढे

तनहुँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो । उवडाको प्रगतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिएका छन् । साथै छिमेकी वडाको पोष्टकबारी सामुदायिक वनमा पनि डढेलो लागेको छ ।

‘कास्कीसँग सिमाना जोडिएका सामुदायिक वनमा पनि आगलागीका घटना बढेका छन् ।’ उनले भने, ‘फिरफिरेलाई घेरेका सबै सामुदायिक वनमा आगलागीका घटना बढेका छन् ।’ वायु प्रदूषणको चरम अवस्थामा बढेका डढेलोले गर्दा लाखौं वन्यजन्तु र बोटबिरुवा विनाश हुनुका साथै मानव जीवनको स्वास्थ्यमासमेत नकारात्मक असर पुगेको गुरुङले बताएका छन् ।

Batas

‘केही व्यक्तिको लापरवाहीका कारण यस्तो अवस्था सिर्जना हुन्छ, यसलाई नियन्त्रणका लागि सबै सचेत बन्नुपर्छ ।’ उनले भने, ‘अनैतिक काम गर्ने युवाका कारण पनि डढेलोका घटना बढेको हुन सक्छ ।’ हिउँदे समय सुरु भएसँगै वन जंगलमा डढेलोको जोखिम रहने भएकाले डिभिजन वन कार्यालय तनहुँले पनि डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ । चैत वैशाखको समयमा वन जंगलमा अत्याधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई जोड दिएको हो ।

जिल्लाका विभिन्न ठाउँमा डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिम गठन गरिएको कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिएका छन् । ‘यो समय भने जंगलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनमा उत्तरदायी टिम गठन गरेका छौं ।’ उनले भने, ‘डढेलो लागेको थाहा पाउने वित्तिकै उक्त टिमले नियन्त्रणका लागि काम गर्छ ।’

वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताएका छन् । ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासंघ लगायतलाई आग्रह गरेका छौं ।’ उनले भने, ‘सर्वसाधारणले घर नजिकैको पातपतिंगर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।’

यो वर्ष भने अहिलेसम्म जिल्लामा डढेलोको समस्या देखिएको छैन । जिल्लामा रहेका ८ वटा सवडिभिजन वन कार्यालयले आ–आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५ सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० वटा स्थानीय तहमा ६ सय १६ सामुदायिक, ४ सय ८५ कबुलियती, ६ धार्मिक वन छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.