www.tandavnews.com
Fact ~ In search of truth

‘पोखरा विश्वविद्यालयमा बेथिति’

जीवन सुवेदी/ताण्डव

पोखरा विश्वविद्यालयमा बेथिति बढ्दै गएको आरोप लागेको छ । विश्वविद्यालय लामोसमय पदाधिकारीविहीन हुँदा करिब १ वर्ष विद्यार्थीहरुको शैक्षिक तथा प्रशासनिक क्रियाकलापहरुमा प्रत्यक्ष असरपरेको थियो । पदाधिकारीहरु नियुक्ती भए लगत्तै भने उनीहरुका निर्णयहरुका कारण विश्वविद्यालय पुनः विवादमा तानिएको छ ।

आफ्नै अस्पताल नहुँदा नर्सिङका कार्यक्रमा प्रभाव

Batas

विश्वविद्यालय सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरु मध्ये स्वास्थ्य विज्ञान संकायका नर्सिङ र फार्मेसीका स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरुमा मेडिकल काउन्सिलले भर्ना नलिन सूचना जारी गरे पछि विश्वविद्यालयलाई टाउको दुखाइ सुरु भएको छ । विगत २ दशकदेखि स्वास्थ्य क्षेत्रको कार्यक्रमहरु सञ्चालन गरिरहेको र १ दशकदेखि नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेको विश्वविद्यालयले हालसम्म पनि पटकपटक प्रतिवद्धता गरे पनि आफ्नो शिक्षण अस्पताल स्थापना गर्न नसकेपछि दबाब बढेको छ । हाल यो वर्ष कुनै पनि हालतमा अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाएर भर्ना खोल्ने तयारीमा विश्वविद्यालय लागि परेको स्रोतले बताएको छ । तर विश्वविद्यालय अन्तर्गत स्वास्थ्य विज्ञान संकायका डिन अमर नागिलाले उक्त आरोपको खण्डन गरे । ताण्डव न्युजसँग कुराकानी गर्दै उनले राष्ट्रिय चिकित्सा आयोगले नर्सिङका कुनै पनि कार्यक्रम नरोकेको उनले बताए । ‘हामीलाई सबै आधिकारिक पत्र पनि प्राप्त भईसकेको छ, उनले भने कार्यक्रम सूचारु नै रहन्छ ।’ यद्यपी आफ्नै अस्पताल सञ्चालन गर्न २०७२ सालमै निर्देशन दिएको भएपनि हालसम्म अस्पताल नहुँदा समस्या भएको नागिलाले स्वीकार गरे ।

छात्रावास भवनलाई नै शिक्षण अस्पताल बनाउने तयारी पछि विद्यार्थी आक्रोशित

पोखरा विश्वविद्यालयमा छात्रावासको सुविधा भारतिय दुतावासको सहयोगमा विगत ३ वर्ष यतामात्र सुरु भएको हो । विशेषतः महिला विद्यार्थीहरुलाई परेको समस्यालाई दृष्टिगत गर्दै विश्वविद्यालयलाई दुतावासले ४५ कोठाको सुविधासम्पन्न २ तले भवन बनाइदिएको थियो । त्यसको उद्घाटनका लागि भारतिय राजदुत राकेश सुद नै पोखरा विश्वविद्यालय आएका थिए ।

विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले छात्रावास हटाउने विषयमा आधिकारिक निर्णय भने भई नसकेको दावी गरे । उनले ताण्डवसँग भने ‘ अहिले यूनिभर्सीटीले अस्पताल बनाउनैपर्ने भन्ने कुरा आएको छ तर तत्काल हामीसँग जग्गा छैन’ उनले भने ‘छात्राबास भवनमा अस्पताल चलाउने बारे चर्चा मात्र चलेको हो ।’ ढकालले आफू यस विषयमा थप जानकारी दिन नसक्ने उनले ताण्डवलाई बताए । सूचना अधिकारीले नै स्पष्ट जवाफ नदिँदा यो विषयमा थप अन्यौल भएको छ । तर स्रोतले भने हाल शिक्षण अस्पताल बनाउने भन्दै रातारात छात्रावास खाली गर्ने विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय नै गरिसकेको दावी गरेको छ । सो निर्णयबारे दुतावासलाई समेत जानकारी नभएकोले निर्णय थप विवादित बनेको छ । साथै छात्रावासको वैकल्पिक व्यवस्था नहुँदा विद्यार्थीहरु आक्रोशित बनेका छन् ।

बढुवामा ‘आफ्नो हात जगन्नाथ’

पोखरा विश्वविद्यालयको हरेक बढुवाहरुलाई त्यहाँका सिनियर कर्मचारी तथा प्राध्यापकहरुले आफ्नो शक्ती प्रदर्शनको अस्त्र बनाउने गरेको देखिन्छ । यस पटकसमेत विश्वविद्यालयमा शिक्षक तथा कर्मचारीहरुको बढुवामा त्यो रोगको संकेतहरु स्पष्ट देखापरेको छ ।

सो प्रयोजनका लागि विश्वविद्यालयले बनाएको योग्यता निर्धारण समितिमा बढुवाको लाइनमा रहेकाहरुकै हालिमुहाली देखिएको छ । योग्यता निर्धारण समितिको संयोजक डिन अमर नागिला आफैं प्राध्यापकमा बढुवा हुने लाइनमा छन् । त्यस्तै सो समितिमा भएका शिक्षक तथा कर्मचारीहरु आफैं बढुवाको लाइनमा भएकाहरु नै छन् । विश्वविद्यालयका पदाधिकारीहरुको निकटस्थ भएकाले उनीहरुले सो जिम्मेवारी पाएको र सो समितिले बनाएको नयाँ योग्यता सार्वजनिक नभएकोले पनि शिक्षक कर्मचारीहरु असन्तुष्ट छन् । समितिका सदस्यहरुले आफूँ अनुकूल योग्यता बनाएको र तत्काल विज्ञापन खोलेर आफ्नो बढुवा सुनिश्चित गर्नका लागि हतारमा प्रक्रिया अगाडि बढाउने प्रयास गरेपछि विश्वविद्यालयका आम प्राध्यापक कर्मचारीहरुले यो कार्यलाई ‘आफ्नो हात जगन्नाथ’ को संज्ञा दिइरहेका छन् ।

बढुवामा मनोमानी छ भन्ने आरोप छ नि भन्ने ताण्डव न्युजको प्रश्नमा विश्वविद्यालयका रजिष्टार डा. दिपक भण्डारीले कुनै अनियमितता नभएको दावी गरे ।‘ विश्वविद्यालय सेवा आयोगले बनाएको कार्यविधि र सुझावलाई अझ सबैमाझ पुगोस् भनेर हामीले डिनको संयोजकत्वमा प्राध्यापक संघका अध्यक्ष, कर्मचारी संघका अध्यक्ष र सिनियर कर्मचारीहरुको संयोजकत्वमा समिति बनाईएका हौं ।’ उनले भने ‘अहिले नै बढुवा गर्ने भन्ने होइन तर भविष्यमा बढुवा गर्दा कसरी गर्दा उपयुक्त हुन्छ भनेर समिति बनाईएको मात्र हो ।’

हेल्लो सरकारको पत्र

पोखरा विश्वविद्यालयलाई हेल्लो सरकारमा परेको उजुरीका आधारमा पत्र हेल्लो सरकारले पत्र काटेपछि विश्वविद्यालय तरंगित बनेको छ । विश्वविद्यालयको पुस्तकालयमा आवश्यक मात्रामा पुस्तकहरु नभएको भन्दै एक विद्यार्थीले उजुरी दिएपछि विश्वविद्यालय प्रशासन अप्ठेरोमा परेको हो । हाल त्यसको कामचलाउ जवाफ दिनका लागि विश्वविद्यालयले तयारी गरिरहेको तर पुस्तक थप्ने तर्फ भने कुनै चासो नदिएको विद्यार्थीहरुको गुनासो छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.