www.tandavnews.com
Fact ~ In search of truth

पूर्व भलिबल प्रशिक्षक महतोलाई भलिबल संघको सहयोग

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

कास्की जिल्ला भलिबल संघले पूर्व भलिबल खेलाडी तथा प्रशिक्षक जीवनप्रसाद महतोलाई आर्थिक सहयोग गरेको छ ।

विगत १२ वर्ष अघि (२०६६ साल) मोटरसाईकल दुर्घटनामा परी पक्षघात भएका महतोलाई उनकै निवास भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा पुगी हिजो (शनिबार) ६२ हजार रुपैयाँ सहयोग गरेकोे हो । सहयोग सो रकम राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश कुमार गुरुङ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीलगायतले महतोसहित उनका धर्मपत्नी ज्योतिमिलन महतोलाई उक्त रकम हस्तान्तरण गरे ।

Batas

सो अवसरमा बोल्दै अध्यक्ष पराजुलीले संघको तर्फबाट ५० हजार, सदस्य संजीव जिसीले ५ हजार, पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङले ५ हजार र भलिबल प्रशिक्षक दिनेश चौधरीले २ हजार गरी कुल ६२ हजार सहयोग जुटाएको बताए । अध्यक्ष पराजुलीले कास्कीको भलिबल विकासमा महतोको भूमिका महत्वपूर्ण रहेको बताए ।

पूर्व भलिबल प्रशिक्षक जीवनप्रसाद महताे र उनका धर्मपत्नी ज्याेतिमाेहन महताे

उनले विगत स्मरण गर्दै भने, ‘जीवन सर तपाई यस्तो अवस्थामा रहे पनि तपाईले विगतमा उत्पादन गरेका कृतिहरु तपाईसामु छन् । त्यो कुराहरु कास्की जिल्ला भलिबल संघले कहिल्यै बिर्सने छैन । तपाईलाई सधैं सम्मान गर्नेछ ।’

अध्यक्ष पराजुलीले पछिल्लो समय कास्कीमा भलिबलको विकास तिव्र भइसकेको बताउँदै कुनै कार्यक्रममा निम्तो दिने बताए । तपाईलाई एउटा कार्यक्रममा बोलाउँछौ, उनले भने, ‘तपाईको योगदानको बारेमा स्मारिका निकालेर हुन्छकी कसरी हुन्छ, तपाईलाई जानकारी गराउँछौ । जीवन सर तपाईलाई देखेर म भावुक भएको छु । किनभने तपाई र म खेलेको आज जस्तै लागेछ । तपाईलाई हामीले गर्नुपर्ने सबै गर्छाै ।’ पराजुलीले मुहार फेरिएपछिको रंग्गशालाको अवलोकन र महतोले उत्पादन गरेका खेलाडीहरुसँग पुर्नमिनल गराउने समेत बताएका थिए ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश कुमार गुरुङले जीवनप्रसाद महतो जस्ता खेलकुदको विकासमा लागेका व्यक्तिहरुलाई पदक दिइनुपर्ने धारणा राखे । यस्ता व्यक्तित्वलाई हो पदक दिनुपर्ने, उनले भने, ‘खेलकुदको विकास गर्ने, राष्ट्रलाई राम्रो गर्ने जीवन सर जस्ता व्यक्तिलाई पदक दिँदा बल्ल पदककै मर्यादा पनि बढ्थ्यो । त्यता तिर सरकारको ध्यान जानुपर्छ ।’

उनले पूर्व प्रशिक्षकको दुखमा साथ दिन पुग्ने मौका दिएको भन्दै कास्की जिल्ला भलिबल संघका अध्यक्षलगायतलाई धन्यवाद व्यक्त गरे । ‘पैसा मात्र सबथोक होइन, यस्तो अविस्मरणीय कार्यमा म पनि जोडिन पाए आभारी छु । जीवन सरको उचित मूल्यांकन हुन आवश्यक छ ।’

उनले खेलकुदमा योगदान गर्ने सातै प्रदेशको खोजी गर्ने बताउँदै भने, जीवन सर जस्ता खेलकुदमा लागेका व्यक्तिहरुलाई सातै प्रदेशमा खोज्छौ । साच्चै उहाँको योगदानको कदर गर्छाै । अहिले उहाँ फिजिकल्ली फिट देखिनुहुन्न तर मेन्टल्ली ठीक हुनुहुँदो रहेछ । उहाँको शीघ्र स्वास्थ्यको कामना गर्दछु ।’

सहयाेगपश्चात् भावुक भएका जीवनप्रसाद महताे

सदस्य गुरुङले आगामी दिनमा प्रशिक्षक महतोका लागि आवश्यक सहयोगहरु गर्ने वचन दिए । ‘भावुक नहुनुस् सर ! जिन्दगी यस्तै हो, कहिले घाम लाग्छ कहिले छायाँ लाग्छ, उनले भने, ‘आउने दिनमा खेलकुदले तपाईलाई बिर्सने छैन । म आए पनि सिंगो परिषद् आको फिल गर्नुस् । तपाई साथमा हामी हमेसा हुनेछौं ।’

यसैगरी जीवनप्रसाद महतोका धर्मपत्नी ज्योतिमिलन महतोले भावुक हँुदै सहयोगका लागि आभार व्यक्त गरिन् । ‘तपाईहरुप्रति परिवारको तर्फबाट आभारी छाैं, उनले भनिन्, ‘सरलाई यति वर्षपछि पनि सम्झेर आएर आर्थिक सहयोग गरिदिनुभकोमा हार्दिक कृतज्ञता दिन चाहान्छु ।’

प्रशिक्षक महतोले पोखराको ज्ञानुबाबा एकेडेमीबाट प्रशिक्षण सुरु गरेका थिए । उनले फिस्टेल ऐकडेमी हुँदै टप्स एकेडेमीमा लामो समयसम्म भलिबल प्रशिक्षण गराएका थिए । नेपाली महिला टोलीबाट राष्ट्रका लागि खेलिसकेका परिक्षा गुरुङ, सिपोरा गुरुङ र मञ्जु गुरुङलगायतका प्रतिभावान खेलाडीहरु प्रशिक्षक महतोले उत्पादन गरेका हुन् ।

उनको नेतृत्वको तत्कालीन पश्चिमाञ्चल टोली हुँदा करिब ५ वर्ष महिला भलिबलमा हैकम जमाएको थियो । तर पछिल्लो समय प्रशिक्षक महतोको अभाव खड्किएको छ । प्रशिक्षक महतो आफैंमा पश्चिमाञ्चलका समेत खेलाडी थिए । दुर्घटनाका कारण पक्षघात भएपछि प्रशिक्षक महतोलाई उनकी धर्मपत्नी ज्योतिमिलन महतोले हेरचाह गर्दै आएकी छिन् भने छोरा पढाईका लागि अस्ट्रेलिया रहेका छन् ।

प्रशिक्षक महतोलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीको तर्फबाट राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले यसअघि ७७ हजार ७ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.