पोखरा, ताण्डव न्यूज
दीप युनाईटेड क्लब पोखरा महानगरपालिका- १६ दीपले आयोजना गरेको दोस्रो संस्करणको ‘शुभ विजयादशमी कप फुटसल प्रतियोगिता २०७८’ को उपाधि दीप युनाईटेड मन्डेलाले जितेको छ ।
विजयादशमीको अवसरमा पोखरा- १६ भित्रका १७ टोलीको सहभागितामा शनिबार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा जेवाईसी ‘ए’ लाई ४–२ गोल अन्तरले पराजित गर्दै मन्डेलाले उपाधि रक्षा गरेको हो । उपाधिसँगै मन्डेलालाई ट्रफि, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार प्रदान गरेको खेल संयोजक प्रदिप गुरुङ ‘माईला’ ले जानकारी दिए । उनका अनुसार उपविजेता बनेको एवाईसीले ट्रफि, मेडल तथा प्रमाणपत्रसहित १५ हजार हात पार्यो ।
उक्त प्रतियोगिताको फाईनल खेलबाट म्यान अफ द म्याचको रुपमा सञ्जय पुन घोषित भएका थिए । उक्त प्रतियोगिताबाट रोशन छन्त्याल सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी सर्वाधिक गोलकर्ताका रुपमा मिलन थापामगर, उत्कृष्ट डिफेन्डरमा चन्द्र पुन, उत्कृष्ट गोलरक्षकका रुपमा राजकुमार थापामगर घोषित हुँदै जनही ५ हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई पोखरा महानगरपालिका १६ का वडा अध्यक्ष जीवनप्रसाद आचार्य, वडा सदस्य तथा क्लबका प्रमुख सल्लाहकार राजेश गुरुङ ‘राजु’, गोर्खा फिटनेश सेन्टरका प्रवन्धक निर्देशक डिबी लामालगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका आचार्यले क्लबको प्रशंसा गरे । उनले उक्त प्रतियोगिताले आपसी भाईचारको सम्बन्धलाई थप बलियो बनाउने धारणा राखेका थिए । सो समापन क्लबका प्रमुख सल्लाहकार राजेश गुरुङ, गोर्खा फिटनेश सेन्टरका प्रवन्धक निर्देशक डिबी लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य स्व. विनोद गुरुङको स्मृतिमा उनका दाई विजय घलेले गरेका थिए भने द्धितीय पुरस्कार सौजन्य विक्रम जंग केसीले गरेका हुन् । त्यस्तै विधागततर्फ भने क्रमश स्व. सन्तोष गुरुङ, मनोज गुरुङ, जीवन गुरुङ र सुन्दर गौचनको स्मृतिमा उनीहरुका परिवारले आर्थिक सहयोग प्रायोजन गरेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न स्वदेश तथा विदेशमा रहेको दीपबासीहरुले आर्थिक सहयोग गरेका थिए । क्लबका अध्यक्ष मनकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष खेमराज आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव रामप्रसाद सुवेदीले गरेका थिए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.