चितवन
नेकपा ‘एमाले’ स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा ५ लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताए । पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, वाग्मतीबाट २ लाख ५० हजार, प्रदेश नं १ बाट २५ हजार सहभागी हुने अनुमान गरिएको बताए ।
उनले भने, ‘हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ ।’ उद्घाटनसत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुरेर व्यवस्थापन गर्न लागिएको उनको भनाइ थियो । उद्घाटन सत्रपछि बन्द सत्र सौराहामा गरिने जानकारी दिए । सौराहामा करिब ३ हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।
आजै महाधिवेशन मूलसमितिको सम्पर्क कार्यालय एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरी महाधिवेशन तयारी तीव्र पारिने उनले जानकारी दिए । उनले यसपालिको महाधिवेशन सहमतिमा हुने र केही पदमा मात्रै चुनाव हुनसक्ने बताए । महाधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुँदैछन् ।
नेता पाण्डेले महाधिवेशन कुनै दल र नेताप्रति लक्षित गरेर नगरिएको दाबी गरे । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो । महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म हुँदै छ ।
रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.