www.tandavnews.com
Fact ~ In search of truth

प्रविधिको प्रयोग गर्दै छरितो सेवा प्रवाह गर्न कर्मचारीलाई मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, ताण्डव न्यूज

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सूचना प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौंथो र पाँचौ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएका हुन् ।

अहिले पुराना ढड्डा पल्टाएर बस्ने बेला गइसकेको भन्दै उनले कार्यालय व्यवस्थापन र सेवा प्रवाह दुवै पक्षको ख्याल गरेर काम गर्न उनले आग्रह गरे । क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिमहरु हुने गरेर ती तालिमको उपलब्धि निकै कम हुने गरेको प्रसंग उठान गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार मातहतको प्रतिष्ठानले त्योभन्दा माथि उठेर काम गर्दै आएको बताए ।

Batas

राजनीतिक परिवर्तनसँग सरकारको नेतृत्व फेरबदल भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले गुनासो नआउने गरी प्रभावकारी काम गर्न उनले आग्रह गरे । ‘हामी आउँछौं जान्छौं, दलको राजनीतिक प्रतिबद्धता अनुसार हामीले कार्यक्रमहरु ल्याउँछौं, त्यसलाई कानुनी मान्यता पाउने गरी कार्यान्वयनमा लैजाने तपाईंहरु नै हो, तपाईंहरुको कार्यशैलीमा सरकारको सफलता र असफलता निर्भर छ ।’ यो तालिमले कर्मचारीको वृत्ति विकासमा समेत सघाउने भएकाले त्यही अनुसार यसको उपभोग गर्नु पर्ने उनको भनाइ थियो । प्रदेश सरकार बजेटको सिमितताबीच अगाडि बढिरहे पनि कर्मचारीको क्षमता अभिवृद्धिका लागि कुनै कन्जुस्याइँ नगरेको उनले बताए ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमालले तालिममा जुसुकैले पनि ज्ञान, सीप र व्यहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्न आग्रह गरे ।

मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले सेवाग्राही आएर पहिला ठोक्किने नै सहायकस्तरका कर्मचारीसँग भएकाले नरम र सहज व्यवहार प्रस्तुत गर्न आग्रह गरे । संघीय शासन प्रणालीमा ३ तहका सरकारबीच समन्वयकर्ताको भूमिका समेत कर्मचारीले निभाउनुपर्ने भन्दै उनले कर्मचारीमाथि सरकारले गरेको लगानीको सही नतिजा आउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको ३० कार्यदिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा शैद्धान्तिक व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिए । कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जना छानिएको उनले बताए । १ सय २० जनालाई यो तालिम प्रदान गरिनेछ । तालिममा ११ जिल्लामा संघ, प्रदेश र स्थानीय तहका कार्यालयका कर्मचारी सहभागी छन् ।

२० महिना अघि स्थापित प्रतिष्ठानले ५ वर्षे रणनीति बनाएर त्यही अनुसार अगाडि बढेको उनले बताए । २ वर्ष भित्रमा सुविधासम्पन्न भवन निर्माण गरेर प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल सावित गर्ने प्रतिबद्धता उनले जनाए । यो तालिम लिएपछि कर्मचारीको बढुवाका लागि २ नम्बर थपिन्छ । तालिमका सूचना प्रकाशन गर्दा १ सय ७८ जनाले आवेदन दिएको र तीमध्ये १ सय २० जना छानिएका हुन् । बाँकीलाई पनि क्रमश तालिम प्रदान गरिने पाण्डेले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.