www.tandavnews.com
Fact ~ In search of truth

‘जङ्कफुड’ ल्याए विद्यालयले खाजा खर्च नदिने

बलेवा।
अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर बजारको बनावटी खाना (जङ्कफुड) निषेध गरिएको छ । बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा जङ्कफुड ल्याएको भेटेमा विद्यालयले दिँदै आएको खाजा खर्च नदिने निर्णय गरेको हो ।

यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन् । विद्यालय छेवैका पसलबाट नियमित जसो चाउचाउ, चकलेट लगायतका जङ्कफुड ल्याउने, प्लास्टिकजन्य फोहर जथाभावी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय मान्नेलाई सरकारले दिएको खाजा खर्च उपलब्ध गराउने, नत्र नदिने भएपछि नियमित रुपमा घरघरबाट खाजा बनेर आउने गरेको प्रधानाध्यापक सरिता गौतम सापकोटाले बताइन्।

नेपाल सरकारले प्राथमिक तहका बालबालिकालाई दैनिक रु १५ खाजा स्वरुप दिने व्यवस्था गरेको छ । ‘‘विद्यालयले एकमुष्ट पैसा दिएपछि जे ल्याए पनि कराउनैपर्ने थिएन तर जङ्कफुडले बालबालिकाको पेट दुख्ने र पैसा नभएका अभिभावक र विद्यार्थीलाई एकरुपता गराउन नसकिने भएपछि यो निर्णय गर्नुपरेको हो’’, गौतमले भनिन्, ‘‘अहिले बालबालिकाले खाजा खाँदा धनी र गरिबका छोराछोरी भनेर देखिँदैन ।’’ विद्यालयले एकमुष्ट रकम दिएर दैनिक खाजाको क्यालेन्डर पनि घरमा पठाइदिएको छ ।

Batas

अभिभावकलाई पनि यो निर्णयले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए। ‘‘हरेक दिन फरकफरक खाजा खुवाउन पनि सकिएको छ’’, पौडेलले भने, ‘‘बालबालिका पनि रमाएर खाजा खान तयार हुन्छन् ।’’ तोकेको दिन सबैको खाजा एकै प्रकारको हुनुपर्ने प्रावधान छ । उनका अनुसार विद्यालयले हरेक आइतबार रोटी र तरकारी, सोमबार मकैभट्ट र मङ्गलबार अण्डा तरकारीको व्यवस्था गर्न क्यालेन्डर बनाइएको हो । त्यस्तै बुधबार हलुवा पिठो, बिहीबार चना र शुक्रबार खट्टे घ्यू खुवाउने गरिएको हो । विद्यालयले दिएको तालिकाअनुसार सबै बालबालिकाको खाजा एकै प्रकारको भएपछि मिठोनमिठो भन्ने अवस्था नरहेको गौतमले बताए।

कतिपय विद्यालयले भने सामग्री किनेरै अभिभावकलाई दिने गरेका छन् । बानपा–८ को सिगानास्थित बौडे चउर माविमा भने विद्यालयले सामग्री खरिद गरेर दामासाही दिएको हो । यसरी दिँदा थोरै खर्चमा धेरै सामग्री किन्न सकिएको अभिभावकले बताए। खाजाको क्यालेन्डर बनाएर नियमित घर घरबाट ल्याएको खाने बानीले बालबालिकाको स्वास्थ्य राम्रो भएको गौतमले बताइन्।

उनीहरुको कामबाट शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले प्रभावित भएको बताए। ‘‘विद्यालयले राम्रो काम गरेको रहेछ’’, उपाध्यायले भने, ‘‘खाजाको एकरुपता भएको छ, धनी र गरीबबीचको खाडल पनि पुरिएको देखियो ।’’ मिठो मसिनो मात्रै पठउने र जङ्गफुडमा खर्च गर्नेले पनि तोकिएकै खाजा ल्याउन बाध्य भएपछि बालबालिकामा विभेद नदेखिएको उनले बताए।

विद्यालयले प्लास्टिकजन्य फोहरको व्यवस्थापनमा पनि एकरुपता ल्याएको छ । प्लास्टिकजन्य फोहर ननिकाल्ने, निस्केमा पनि उचित स्थानमा राखेर व्यवस्थापन गर्ने तथा नियमित विद्यालय सफाइ गर्ने व्यवस्थासमेत भएको अर्का शिक्षक नीता गैरेले बताइन्। ‘‘सुरुसुरुमा शिक्षकले गर्दा बालबालिकामा पनि बानीको विकास भएको छ’’, गैरेले भनिन्, ‘‘राम्रो आचरण बसाल्दा समाजलाई पनि फाइदा भएको छ ।’’
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.