म्याग्दी ।
बेनीनगरपालिका–१० पात्लेखेतको दीपक माविलाई एक परिवारले रु तीन लाखभन्दा सहयोग गरेको छ ।
पात्लेखेत घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका मनप्रसाद शेरचनका परिवारले रु तीन लाख पाँच हजार सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा रु दुई लाख सहयोग गरी सकेका शेरचन परिवारबाट आइतबार थप रु एक लाख पाँच हजार आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक विष्णु ढुङ्गानाले जानकारी दिए ।
मनप्रसाद, उनकी आमा सतलदेवी, श्रीमती सीता, छोरा सन्दीप शेरचन, बहिनी करुणादेवी गौचन र ज्वाइँ विष्णुप्रसाद गौचनले आइतबार थप सहयोग गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणमा कार्यरत शेरचनका अर्का छोरा इञ्जिनीयर सन्दीप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान गरिदिएका छन् । सोही अवसरमा रु ३० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोगदाता शेरचन परिवारलाई विद्यालयले आइतबार सम्मान गरेको छ ।
विद्यालयमा खेलमैदान निर्माण
यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माविमा खेलमैदान निर्माण भएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा अमर माविको परिसरमा स्थानीयवासीले पक्की खेलमैदान निर्माण गरेका हुन् । १३ मिटर चौडाइ र २३.५ मिटर चौडाइ भएको ढलानसहितको पक्की खेलमैदान निर्माण भएको प्रधानाध्यापक पृथबहादुर थापाले जानकारी दिए ।
गाउँपालिकाको रु सात लाख ५९ हजार अनुदान र स्थानीयवासीको रु दुई लाख १३ हजार बराबरको श्रमदानमा खेलमैदान निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।-रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.