www.tandavnews.com
Fact ~ In search of truth

पढ्न जान थालेपछि सुन्तली जस्तै ठूलो मान्छे बन्छौ

बर्दिवास(रासस)
गोपालप्रसाद बराल ।

‘गे काजल, जल्दी तयार भक चल, आई तोरा स्कूलके जिम्मा लग्बैछी’ (काजल, चाँडै तयार होउ, आज तिमीलाई स्कूलको जिम्मा लगाउँछु) ।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मनरवाको मुसहर जातिको बसोबास बाहुल्यताको दलित बस्तीकी फूलपति सदा बिहीबार छोरी काजलसँग भन्दै हुनुहुन्थ्यो–, “आब पढ जेबे नई, त तहुँसब सुन्तली सन् बड्का आद्मी बन्बे’ (अब पढ्न जान थालेपछि तिमीहरु पनि सुन्तली (हास्यकलाकार कुञ्जना घिमिरे) जस्तै ठूलो मान्छे बन्छौ) ।

Batas

झण्डै १५० घर मुसहर रहेका मनरवामा बिहीबार फूलपतिमात्र नभएर नैनी, अमरिका, शिवरङियाँ र पारोवतिसहितका त्यस बस्तीका अरु आमा पनि आफ्ना सन्तानलाई चाँडै स्कूल पु¥याएर नाम लेखाएपछि छोराछोरी ठूलो मान्छे बन्ने सपना सँगाल्दै नानीहरुलाई तयार पार्न ब्यस्त देखिन्थे ।

सधैँजसो उज्यालो हुनासाथ छोराछोरीका हातमा खुर्पी, कोदालो दिएर मुसा बस्ने दुला खोज्न पठाउने आमा नानीलाई स्कूल जाने तयारीमा लगाएको देखिँदा मुसहर बस्तीमा नयाँ कुरा देखिएको छिमेकी बस्तीका सर्वसाधारण टिप्पणी गरिरहेका देखिन्थे ।

“मान्छु हजुर, नानी पढेपछि ठूलो मान्छे हुन्छ” नेपालीमै कुरा गर्न जान्ने भइसकेकी चार छोराछोरीकी आमा शिवरङियाले बिहीबार आफ्नै आँगनमा पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “आबो (अब) दुःखसुख खेपेर पनि छोराछोरीको पढाइ भने छुटाउन्न ।”

विसं २०६८ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई बास बसेका विशुन सदाको घरकी बुहारी हुन् शिवरङिया । “पछि हाम्रा लागि के गर्नुभो, त्यो त था भएन” शिवरङियाले भन्नुभयो–, “तर, नानीहरु पढे गरिबी हट्ने र भोकभोकै हुने स्थिति चैँ नरहने उनले बताएका मेरो कानमा अझै ताजा छ ।”

बस्ती नजिकै रहेको नेपाल राष्ट्रिय जनजाति आधारभूत विद्यालयमा बिहीबार मुसहर जातिका विद्यालय जाने उमेरका सबै बालबालिकाको सामूहिक भर्ना गराएर अभिभावकत्व लिन हास्यकलाकार कुञ्जना घिमिरे पुगेपछि मुसहर बस्तीभित्र कुनै खास चाड आएको फूर्ति देखिन्थ्यो । बस्तीका मुसहरले यो रउस (रमाइलो, चाडवाड) मा साथ दिन निम्ता गरेका टाढाटाढाका आफन्त पनि बस्तीभित्र आएका थिए ।

बस्ती अवलोकन गर्दैजाँदा एउटा पराले झुप्रोमा आमा नैनवति सदा आफ्ना चार छोराछोरीलाई वरिपरि राखेर रंगिन चित्र भएको पुस्तकको पाता पल्टाउँदै चित्रबारे नानीहरुसँग जिज्ञासा राखिरहेकी देखियो ।

मनरवाको आफ्ना जातिका नानीहरुको विद्यालय भर्ना अभियानमा सरिक हुन बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीबाट पुगेकी जितो सदालाई पनि अब चैँ त्यहाँका आफन्त शिक्षाप्रति जागरुक भएको विश्वास जागेछ । “यिनीहरु त राम्रै फेरिएछन्” जितोले भन्नुभयो–, “अब मनरवामा पनि बर्दिवासकै जस्तो स्कूल जाने थुप्रै मुसहर नानी हुने भएछन् ।”

मुसहरले त्यसमा पनि घरका महिलाले बालबालिकाको विद्यालय भर्नाबारे चासो बढाएको देखेर भर्ना कार्यक्रममा सहभागी हुन पुगेकी प्रतिनिधिसभा सदस्य (सांसद) दिलकुमारी साहलाई पनि अब चैँ बस्तीमा शिक्षाको प्रसार हुने आस जागेछ ।

“म त यहीं छिमेकको फुलकाहाँ बस्तीकी हुँ, यो बस्तीमा धेरै पटक आइसकेकी छु” सांसद साहले भन्नुभयो–, “मुसहर महिलाले छोराछोरी स्कूल पठाउन देखाएको चासोले अब चैँ सकारात्मक परिवर्तन हुने छाँट देखियो ।”

आफ्ना हकअधिकार, नागरिक सुविधा र विभिन्न निकायबाट पाउनु पर्ने सेवाबारे पूरै बेखबर रहने मुसहर बस्तीमा शिक्षाप्रति आएको चासोले आफू निकै उत्साहित बनेकी सांसद साहको थप भनाइ थियो ।

बिहीबार विद्यालयमा आयोजित नानीहरुको भर्ना कार्यक्रममा हास्यकलाकार कुञ्जना घिमिरेले भर्ना गरिएका १२५ जना नानीहरुको अभिभावकत्व धुर्मुससुन्तली फाउण्डेशनले लिएको घोषणा गर्दा कार्यक्रमस्थल तालीको गडगडाहटले गुञ्जिएको थियो ।

सो अवसरमा हाँस्य कलाकार घिमिरे (सुन्तली) ले नयाँ भर्ना भएका १२५ बालबालिकालाई शैक्षिक सामग्रीसहितको झोला हस्तान्तरण गर्दै विद्यालयका सबै मुसहर बालबालिकाका लागि आफूले समान जिम्मेवारी लिने र आफ्नो क्षमता नलुकाई साथ दिइरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

समारोहमा सहभागी सांसद साहका अतिरिक्त महोत्तरी–१ ‘ख’ का प्रदेशसभा सदस्य भरतप्रसाद साह, गौशाला नपाका प्रमुख शिवनाथ साह, उपप्रमुख आशा लामा, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्ट र नगरपालिकाका वडाध्यक्ष र राजनीतिक दलका स्थानीय प्रतिनिधिले आआफ्नो क्षेत्रबाट दलित बस्तीको शैक्षिक उत्थानका लागि समर्पित भएर सेवा दिने प्रतिबद्धता जनाउनुभयो ।

सो बस्तीमा विसं २०६३ मा स्थापित श्री नेपाल राष्ट्रिय जनजाति आधारभूत विद्यालयमा बिहीबार भर्ना भएका १२५ सहित अब बिद्यार्थी संख्या ३०१ पुगेको छ ।

विद्यालयमा आफू राहत दरबन्दी र एकजना बालविकास सहयोगीमात्र हुँदा नानीहरुलाई चाहिनेजति समय दिन नपाइएको प्रधानाध्यापक द्रोपदी यादवले पीडा सुनाउनुभयो ।

विद्यालयमा स्थायी दरबन्दीका योग्य शिक्षक थपेर पठाइदिन सांसद, प्रदेशसभा सदस्य, नगर प्रमुख, उपप्रमुखसहितका सबै विशिष्ट अतिथिसँग प्रधानाध्यापक यादवको आग्रह थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.