www.tandavnews.com
Fact ~ In search of truth

कपडाले बारेको घरमा कष्टकर रात

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

तस्बिरमा देखिएको घरको ३ तिरको भित्ता माटो र सिमेन्टको प्रयोग नगरीकन खप्टाएर राखिएका काँचा इट्टा राखेर बनाइएको छ भने अगाडिको भागमा कपडा भुण्डाएर छेकबार बनाइएको छ । घरलाई अड्याउनको लागि चौकुनामा बाँसका खम्बा गाडिएको छ ।

घाम र पानी ओत्नको लागि पुराना जस्ता पाताको प्रयोग गरिएको छ । यहीँ घरमा बसेर बिगत ३ बर्षदेखि श्रीमान÷श्रीमती र ६ महिने छोराको जीवन धानिएको छ । घर भित्र एउटा सुत्ने ओछ्यान जसोतसो अटाएको छ । खाना पकाउनको लागि एउटा कुनामा अटसमटस गरेर भाडाकुँडाहरु राखिएको छ । त्यस बाहेकको अन्य ठाउँमा असरल्ल छ । एउटै ओछ्यानमा श्रीमान, श्रीमती र छोराले कष्टप्रद रात काट्न बाध्य छन् ।

Batas

यो घर हो पर्वतको फलेवास नगरपालिका वडा नं. ६ माझीगाउँका २५ वर्षीय ख्यामे माझीको । यो अवस्थाको घरमा जीवन बिताउनुको दोषी भने ख्यामे होइनन्, २०७२ सालको विनाशकारी भूकम्प हो । भूकम्पले उनको घर बस्नै नहुने गरी तहस नहस पारेर भत्काइदियो । उनको नाम भूकम्प पिडितको सूचीमा पनि समावेश त थियो तर अहिलेसम्म पहिलो किस्तावापत रकम पाएका छैनन् । उनको परिवारले त्यही भत्किएको, पानी पर्दा चुहिने घरमा तीन वर्खा पार गरेका छन् ।

भूकम्प गएलगत्तै भत्किएका घर भत्काएपछि सरकारले पैसा दिन्छ रे भन्ने उनले पनि सुने । राहत पाउने आसले बाँकी रहेको घरपनि भत्काए । ‘न रह्यो बाँस, न बज्यो मुरली’ भने जस्तै हुँदा उनीहरुको दैनिकी झनै कारुणिक बन्न पुग्यो । ख्यामेकी श्रीमती २१ वर्षीय राधिका भन्छिन, ‘सचिवले अरुको तेस्रो किस्ता निकालेपछि मात्र तिमीहरुको पहिलो किस्ताको पैसा निकाल्न मिल्छ भन्नुभएको छ,’ घरतर्पm देखाउँदै गहभरी आँशु पार्दै उनले थपिन, ‘सचिव सरले अहिले यताउति ऋण खोजेर बनाउँदै गर्नु, पछि यो पैसा निक्लेपछि ऋण तिर्दा हुन्छ भन्नुभएको छ ।

अब हामी गरिबलाई सिंगो घर बनाउने ऋण कसले हालिदिन्छ र घर बनाएर बस्ने ?’ परिवार पाल्नैका लागि ख्यामेले दैनिक ज्यालादारीमा काम गर्दै आएका छन । मजदूरी गरेर जसोतसो कमाएको पैसा खान लाउनैमा ठिक्क भएपनि उनको कमाइले घर बनाउन सक्ने अवस्था भने छैन् ।

फलेवासका ख्यामे त भूकम्प पीडितहरु मध्येका एउटा प्रतिनिधि मात्र हुन । समयमै किस्ता नपाएका कारण पर्वतका यस्तै धेरै भूकम्प पिडितहरुले यस पटकको बर्खा पनि भिज्दै बिताएका छन् ।
विनासकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत पर्वतका १२ प्रतिशत भूकम्पपीडितहरूले मात्र दोस्रो किस्ताको रकम पाएका छन् । पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितहरूले दोस्रो किस्ता लिनका झण्झटिलो प्रक्रियाका कारण रकम पाउन नसकेका हुन ।

जिल्लाका पूर्ण क्षति भएका पाँच हजार २ सय ६९ लाभग्राहीमध्ये हालसम्म ५ सय ८५ जनाले मात्र दोस्रो किस्ताको रकम लिएका छन् । स्थानीय तहहरूवाट भुक्तानीका लागि सिफारिस गर्न ढिलाइ भएका कारण पीडितहरू लामो समयसम्म पनि दोस्रो र तेस्रो किस्ता पाउनबाट बञ्चित बनेका छन् ।

रकम नपाएकै कारण कतिपयको निर्माणाधिन आवास नै अलपत्र अवस्थामा छन् । पहिलो किस्ता लगेकाहरूले काम सुरु गरी अन्तिम चरणमा पुगेको भए पनि दोस्रो किस्ताबारे अन्यौल हुँदा उनीहरू मारमा परेका छन् । जिल्लाका सातवटै स्थानीय तहमा पुस मसान्तमा मात्र प्राविधिक खटिएका थिए ।

त्यसमा पनि हिँदी, पैंयु र जलजला गाउँपालिकामा खटिएका प्राविधिकहरू निकै ढिलोगरी कार्यक्षेत्रमा पुगेका थिए । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतका प्रमुख जगदिश शर्माका अनुसार हालससम्म चार हजार ७ सय ७४ जनाले सम्झौता गरेर पहिलो किस्ताको रकम ५० हजार रुपैयाँ लगेका छन् । अझै ४ सय ९५ जना पहिलो किस्ता समेत लिन आएका छैनन् । दोस्रो किस्ता लिनका लागि चार हजार ६ सय ८५ जना सिफारीस नै लिन नआएको शर्माले बताए ।

स्थानीय तहहरूलाई छिटो भुक्तानी सिफारिस गरेर पठाउन ताकेता गरिएको भएपनि अझै आइसकेका छैन् । घर बनाइसकेकाहरूको पनि अनुगमन र भूकम्प प्रतिरोधी छ या छैन भनेर परीक्षण नगरिँदा दोस्रो किस्ता वितरण गर्नमा ढिलाई भएको पाइएको हो ।

हालसम्म पर्वतमा पहिलो किस्ता वापतको २३ करोड ८७ लाख रुपैयाँ वितरण भइसकेको छ भने दोस्रो किस्ता वापत ८ करोड ७६ लाख रुपैयाँ वितरण भएको छ । कतिपयको नाम परिवर्तन भए नभएको, अर्काको जग्गामा बसोबास गरेका, दुई घर भएकाहरूको पहिचान गर्न कठिनाइ भएकाले पनि पुर्ननिर्माणमा समस्या देखिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.