www.tandavnews.com
Fact ~ In search of truth

भाषिक एकीकरणलाई स्थायित्व दिनुपर्छ:उपप्रधानमन्त्री पोखरेल

काठमाडौं ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा भानु प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०६ औँ भानुजयन्ती एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको समभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई मजबुत बनाउन भानुजयन्ती जस्ता अवसरले प्रेरणा दिने बताए ।

“ समृद्ध नेपाल र सुखी नेपालीका लागि सबै धनी हुनुपर्छ, यसका लागि नेपालीबीचमा एकता हुनु जरुरी, एकता खल्बल्याउनेहरु सक्रिय रहेकाले सबै सचेत हुनुपर्छ”, उपप्रधानमन्त्री पोखरेलले भने ।सो अवसरमा उचाइ बराबरको अभिनन्दनपत्रले सम्मानित राष्ट्रकवि घिमिरेले भानुजयन्ती सर्वप्रथम दार्जीलिङबाट मनाउन शुरु गरिएको स्मरण गर्दै विदेशमा बस्ने नेपालीले नेपाल राष्ट्र, नेपाली भाषा र संस्कृतिलाई फैल्याएको बताए ।

“अहिलेको विश्वमा मानिसमा हृदय र पारिवारिकता हराउँदै गएको छ, ‘रामायण’मा उल्लेख भएअनुसार राम वनबास जाँदा भरतले खराउलाई सिंहासनमा राखेर राज्य गरेजस्तो पारिवारिकता फर्कोस्, भानुजयन्तीबाट हामीले त्यो सिक्न सकौँ”, उनले भने ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकृत बनाएको नेपाललाई आदिकवि आचार्यले भाषिक एवं सांस्कृतिक रुपमा एकताको सूत्रमा गाँसेको बताए ।भानु प्रतिष्ठानका अध्यक्ष प्रा .डा व्रतराज आचार्यले नेपाली भाषाको मानकीकरणमा योगदान दिएका आचार्यले ‘रामायण’लगायत ग्रन्थका माध्यमबाट सनातन संस्कृतिलाई एकताको सूत्रमा गाँसेको सुनाए ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, प्राज्ञ देवी नेपाल, साहित्यकार ऋषभदेव घिमिरेलगायतले विसं २०३३ देखि नै प्रभातफेरी शुरु भएको जानकारी दिएका थिए ।

भानु जयन्ती मनाउन म्याम्माबाट आएका ओम बगाले थापाले नेपाली भाषा नरहे नेपाली जाति, संस्कृति र संस्कार बच्न नसक्ने भएकाले आफूहरुले विदेशमा बसेर पनि भाषा रक्षाका लागि काम गरेको जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.