www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभा चुनावमा मतदान जारी ः ३२ सिटमा ९ दलका ५२ उम्मेदवार

काठमाडौं ः राष्ट्रियसभा सदस्य चयनका लागि बुधबार मतदान हुँदै छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए ।
निर्वाचनको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने, ‘विगतका निर्वाचनझैं राष्ट्रियसभा निर्वाचन पनि शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न हुनेमा आयोग विश्वस्त छ ।’
चुनाव सुरक्षाका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीसहितको तीन घेरे सुरक्षा प्रबन्ध गरिएको गृह मन्त्रालयले जनाएको छ ।
६ वटा प्रदेशमा मतदान
प्रदेश १, ३, ४, ५, ६ र ७ गरी ६ वटा प्रदेशमा मतदान हुनेछन् । प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र कायम गरिएको छ । ६ वटा प्रदेशका १२ वटा मतदान केन्द्रमा मतदान हुनेछ । प्रदेश २ मा आठै पदसहित २४ सिटमा निर्विरोध भइसकेको छ । निर्विरोध भएकालाई बुधबार नै प्रमाणपत्र प्रदान गरिनेछ ।
५२ उम्मेदवार
राष्ट्रियसभा चुनावमा ३२ सिटमा नौ दलका ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले राष्ट्रियसभामा कुल ५६ जना निवार्चित हुने व्यवस्था संविधानमै छ । प्रत्येक प्रदेशबाट महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निवार्चित हुनेछन् ।
महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निवार्चित हुनेछन् ।
प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यका लागि मतदान हुँदै छ ।
प्रदेश ३ मा ८ वटै पदमा मतदान हुनेछ । प्रदेश ४ मा अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्यमा उम्मेदवार निर्विरोध निवार्चित भएकाले बाँकी सदस्य चयनका लागि निर्वाचन हुँदै छ ।
यसैगरी, प्रदेश ५ मा महिला ३ सदस्यमा उम्मेदवार निर्विरोध भइसकेकाले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी ५ सदस्यका लागि निर्वाचन हुँदै छ ।
त्यस्तै, प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदै छ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्य निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यमा निर्वाचन हुँदै छ ।
मतदानको तरिका फरक
यो चुनावमा मतदान तरिका फरक छ । चुनावमा स्वस्तिक चिह्नको प्रयोग नगरीकनै मतदान हुनेछ । प्रदेशसभा सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रंगको मतपत्रमा मत संकेत गर्नुपर्नेछ ।
महिला, दलित, अपांग, अल्पसंख्यक र अन्य समूह गरी चार वटा मतपत्र प्रयोग गरिएको छ ।
तीन महिला र अन्य ३ सदस्यका लागि एकल संक्रमणीय मतका आधारमा मत संकेत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीन जना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्ने छ ।
महिला र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट निर्वा्चित हुने सदस्यको मतपत्र पनि अलग–अलग तयार गरिएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक चिह्न संकेत गर्नुपर्नेछ ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.